काठमाडौं । प्रदीप खड्का मुख्य भूमिकामा रहेको चलचित्र ‘२६ करोड’ को छायांकन एसियाली तथा युरोपेली चलचित्रमा अनुभव बटुलेका छायाकार आर्टुर जुराव्स्कीले गर्ने भएका छन्। छायांकनका लागि आर्टुर शनिबार नेपाल आइपुगेका हुन्। उनी आइतबारदेखि चलचित्रको वर्कशपमा पनि सहभागी भएका छन्।

बिकास सुबेदीको निर्देशन रहेको चलचित्रको अहिले वर्कशप चलिरहेको छ। निर्माता सुभाष भुषालका अनुसार मंसिर १५ गतेदेखि छायांकन सुरु हुनेछ।
पोल्याण्डका छायाकार आर्टुरले पोल्याण्ड, भारत, अमेरिका, स्विट्जरल्यान्ड र दक्षिण कोरियाली चलचित्र उद्योगमा काम गरिसकेका छन्। उनले यसअघि बिकास निर्देशित नेपाली चलचित्र ‘सिरजरा’ मा पनि काम गरेका थिए। ‘२६ करोड’ दुईबीचको दोस्रो सहकार्य हो।
बलिउडमा आर्टुरले सलमान खानको ‘सुल्तान’, रानी मुखर्जीको ‘मर्दानी’ र सञ्जय दत्तको ‘भूमी’ जस्ता चलचित्रको छायांकन गरेका छन्। ती चलचित्रले अन्तर्राष्ट्रिय रूपमा पनि चर्चा पाएका थिए। भारतीय चलचित्रबाहेक उनले अमेरिकाको ‘हेड टु लभ’, दक्षिण कोरिया र पोल्याण्डको संयुक्त निर्माण ‘व्हेयर वुड यू लाइक टु गो?’, ‘लोकाटोर्का’ र ‘इज् पोद प्रोंद’ को छायांकन पनि गरेका छन्।
आर्टुरले पोलिस नेशनल फिल्म स्कुलबाट सिनेम्याटोग्राफीमा स्नातक गरेका हुन्। उनले छायांकन गरेका चलचित्रले युरोप, एसिया, अमेरिका र अस्ट्रेलियाका विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुरस्कार तथा सम्मान पाएका छन्। उनी बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सवअन्तर्गतको एसियन फिल्म एकेडेमीमा सिनेमाटोग्राफी मेन्टरका रूपमा पनि आबद्ध छन्।
आगामी नयाँ वर्षमा रिलिज गर्ने तयारी गरिएको चलचित्रमा प्रदीप खड्कासँगै सारा अरएल शाहको मुख्य भूमिका छ। सारा बलिउड अभिनेता विवेक ओबेरोयकी छोरी हुन्।
किङ्गडम नेटवर्कको ब्यानरमा बन्ने चलचित्रको लेखन निर्देशक सुबेदीले नै गरेका हुन्। साउन्ड डिजाइन उत्तम न्यौपानेको, सङ्गीत निर्माता भुषालको, शब्द हर्क साउदको र निर्माण नियन्त्रण मनोज जोशीको छ।
चलचित्रको घोषणा असोजको पहिलो साता मुम्बईको ‘ताज ल्यान्ड्स एन्ड’ होटलमा गरिएको थियो। घोषणा कार्यक्रममा बलिउड अभिनेता ओबेरोय पनि उपस्थित थिए।


