
काठमाडौं । भारतको चर्चित र्याप रियालिटी शो ‘एमटीभी हसल’को नेपाली फ्रेन्चाइज ‘हसल बाई नेपहप’ नेपालमा आउने भएको छ । मलिन मिडिया एन्ड इभेन्ट प्रा.लि.ले ल्याउन लागेको यो कार्यक्रम कान्तिपुर टेलिभिजनबाट प्रसारण हुनेछ ।
कार्यक्रमको मुख्य प्रायोजक (टाइटल स्पोन्सर) टीभीएस एनटर्क बनेको छ । त्यसैले कार्यक्रम ‘टीभीएस एनटर्क प्रस्तुत हसल बाई नेपहप’ नामले प्रस्तुत गरिनेछ । आयोजकका अनुसार यसलाई उच्चस्तरीय र्याप रियालिटी शोका रूपमा तयार पारिँदैछ ।
अन्तर्राष्ट्रिय र्याप रियालिटी शोको ढाँचामा आधारित भए पनि कार्यक्रमको केन्द्रमा नेपाली कलाकार, उनीहरूका मौलिक कथा, स्थानीय संस्कृति, सामाजिक परिवेश र नेपाली हिप–हपको आफ्नै पहिचान रहने आयोजकले जनाएको छ ।
कार्यक्रममा प्रतिस्पर्धा, प्रशिक्षण (मेन्टरसिप) र सांगीतिक प्रस्तुतिलाई प्राथमिकता दिइनेछ । स्थापित र्यापरदेखि नयाँ पुस्ताका प्रतिभासम्मलाई राष्ट्रिय मञ्चमा आफ्नो कला र सिर्जनशीलता देखाउने अवसर दिनु यसको मुख्य उद्देश्य हो ।
‘गल्लीदेखि ग्लोरीसम्म’ भन्ने मूल नाराका साथ अघि बढ्ने यो कार्यक्रमले नेपाली हिप–हप प्रतिभालाई ठूलो राष्ट्रिय मञ्च दिँदै नेपाली संगीतका नयाँ सम्भावना उजागर गर्ने आयोजकको विश्वास छ । युवामाझ लोकप्रिय बन्दै गएको हिप–हप संस्कृतिलाई थप उचाइमा पुर्याउने उद्देश्यले टीभीएस एनटर्कले सहकार्य गरेको जनाइएको छ ।
कार्यक्रमको प्रसारण मिति तथा अन्य विस्तृत जानकारी चाँडै सार्वजनिक गरिने आयोजकले जनाएको छ ।




