दस दिनमा ४४ लाख पनि उठाउन सकेन ‘पाँच पाण्डव’ले, दयाहाङका दुवै चलचित्रको कमाइ १० करोड माथि, कबड्डी कति पुग्यो ?



चलचित्र विकास बोर्डले सार्वजनिक गरेको ‘पाँच पाण्डव’, ‘कबड्डी ५’, ‘पेन्सन पट्टा’ लगायतका नेपाली चलचित्रको टिकट बिक्री र आम्दानी विवरण

काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’ले बक्स अफिसमा अपेक्षाअनुसारको सफलता पाउन सकेन। कात्तिक २० गते प्रदर्शनमा आएको यो चलचित्रले पहिलो दस दिनमा ५० लाख रुपैयाँ पनि कमाउन सकेन। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकमा यस्तो देखिएको हो।

बोर्डको तथ्यांकअनुसार आइतबारसम्म यो चलचित्रका १२ हजार २ सय ९४ टिकट बिक्री भएका छन्। यसबाट कुल ४३ लाख ५० हजार ४ सय ९३ रुपैयाँ उठेको छ। प्रदर्शनअघि विवादमा तानिएको र चर्चामा रहेको यो चलचित्रप्रति दर्शकले खासै रुचि नदेखाएको यो तथ्यांकले देखाउँछ।

उता कात्तिक ६ गते प्रदर्शनमा आएको ‘कबड्डी ५’ भने १३ करोड रुपैयाँको नजिक पुगेको छ। कात्तिक २९ गतेसम्म यसका ४ लाख २२ हजार ८ सय ९० टिकट बिक्री भएका छन्। यसबाट १२ करोड ९४ लाख १५ हजार ४ सय ३७ रुपैयाँ उठेको छ। यो चलचित्र यस वर्ष सबैभन्दा धेरै कमाउने नेपाली चलचित्रमध्ये एक बनेको छ।

यसअघि प्रदर्शनमा आएको ‘पेन्सन पट्टा’ले पनि १० करोडको सीमा पार गरिसकेको छ। आइतबारसम्म यसका ३ लाख ६४ हजार ५ सय २० टिकट बिक्री भएका छन्। यसबाट १० करोड ३५ लाख ७८ हजार ४ सय ७८ रुपैयाँ उठेको छ।

यी दुवै चलचित्रमा मुख्य भूमिका दयाहाङ राईको छ। यस वर्ष एउटै अभिनेताका लगातार दुई चलचित्रले १० करोडभन्दा बढी कमाएको यो पहिलो पटक भएको बताइएको छ।

दशैँमा प्रदर्शन भएका तीन चलचित्रमध्ये ‘आ बाट आमा २’ले सबैभन्दा धेरै कमाएको छ। यसका २ लाख ४१ हजार ९६ टिकट बिक्री भएका छन्, र कुल कमाइ ६ करोड ९१ लाख ६७ हजार ३ सय १२ रुपैयाँ पुगेको छ। दोस्रो स्थानमा रहेको ‘छ माया छपक्कै २’का १ लाख ६ हजार ८ सय ८३ टिकट बिक्री भई ३ करोड ४३ लाख १७ हजार ४५ रुपैयाँ उठेको छ। तेस्रो स्थानमा रहेको ‘१२ गाउँ २’का ७६ हजार ६० टिकट बिक्री भई २ करोड ३२ लाख ९६ हजार ३ सय ७१ रुपैयाँ उठेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu