
काठमाडौं – अभिनेता राजेश हमालले नेपाल-भारत सम्बन्ध र नेपालको परराष्ट्र नीतिबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले आज फेसबुकमा लामो स्ट्याटस लेख्दै अर्थमन्त्रीले आफ्नो मन्त्री स्तरीय जिम्मेवारीको सीमाभन्दा बाहिर गएर अभिव्यक्ति दिएको भन्दै असन्तुष्टि जनाएका छन्।
हमालले नेपालको परराष्ट्र नीति सार्वभौमसत्ता, राष्ट्रिय गरिमा र दीर्घकालीन सिद्धान्तमा आधारित हुनुपर्ने बताएका छन्। व्यक्तिगत स्वार्थ वा राजनीतिक अनुकूलताका आधारमा यस्ता विषयमा सम्झौता गर्न नहुने उनको भनाइ छ।
नेपाल-भारत सम्बन्ध भूगोल, इतिहास, संस्कृति र जनस्तरको सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै हमालले दुई देशबिचको सम्बन्ध अझ बलियो बनाउने हरेक इमानदार प्रयासको स्वागत गर्नुपर्ने बताएका छन्। तर, राष्ट्रिय अडानलाई गरिमा, सन्तुलन र जिम्मेवारीका साथ प्रस्तुत गर्नुपर्नेमा उनले जोड दिएका छन्।
नेपाल-भारत सम्बन्धलाई व्यक्तिगत तुष्टीकरण वा सार्वजनिक उपहास निम्त्याउने अभिव्यक्तिमा सीमित गर्न नहुने भन्दै उनले सीमा विवाद र आर्थिक निर्भरताजस्ता विषयलाई समेत स्थापित कूटनीतिक माध्यम, तथ्य-प्रमाण र मैत्रीपूर्ण संवादबाट सम्बोधन गर्नुपर्ने बताएका छन्।
‘छिमेकीसँगको मित्रता र आफ्नो सार्वभौमसत्ताप्रतिको निष्ठा एक अर्काका प्रतिस्पर्धी उद्देश्य होइनन्, यी परस्पर पूरक जिम्मेवारी हुन्,’ हमालले लेखेका छन्।
हमालले आफ्नो फेसबुक स्ट्याटससँगै नेपाल र भारतका राष्ट्रिय झन्डा अङ्कित मैत्री प्रतीकको तस्बिरसमेत राखेका छन्।





