
काठमाडौं – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र विकास बोर्डलाई सबै चलचित्रकर्मीको साझा संस्था बनाउँदै चलचित्र क्षेत्रको विकासका लागि ठोस काम गर्न आग्रह गरेका छन् ।
सोमबार मन्त्रालयमा बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै मन्त्री तिमिल्सिनाले चलचित्र क्षेत्रको विकासका लागि बजेटसँगै नीतिगत सुधार र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए ।
“चलचित्र सरकारले बनाउने होइन, सरकारले चलचित्र बनाउनका लागि ठूलो भूमिका खेल्ने पनि होइन। सरकारले सही वातावरण, नीति र प्रोत्साहन दिने हो,” उनले भने ।
मन्त्री तिमिल्सिनाले बोर्ड कुनै निश्चित वर्गको मात्रै नभई सम्पूर्ण चलचित्रकर्मीको साझा संस्था हो भन्ने अपनत्व स्थापित गर्नुपर्नेमा जोड दिए । उनले बोर्डभित्र उत्तरदायित्व र अनुशासन कायम गर्दै विगतमा उठेका प्रश्नहरू दोहोरिन नदिने गरी काम गर्न अध्यक्ष पण्डितलाई आग्रह गरे ।
बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन परेकोमा छनोट प्रक्रिया, प्रस्तुतीकरण र अन्तर्वार्तापछि तीन जनाको नाम सिफारिस गरिएको थियो । मन्त्रिपरिषद्को गत असोज ३० गतेको निर्णयअनुसार पण्डित बोर्डको अध्यक्षमा नियुक्त भएका हुन् ।




