
काठमाडौं – चलचित्र विकास बोर्डले नेपालभर प्रदर्शनरत स्वदेशी चलचित्रहरूको साप्ताहिक बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ। बोर्डले २०८३ कात्तिक ८ गते आइतबार राति ११ः५९ बजेसम्म बक्स अफिस प्रणालीबाट प्राप्त तथ्यांकका आधारमा सार्वजनिक गरेको विवरणमा ‘गौँथली’, ‘पेन्सन पट्टा’, ‘आ बाट आमा २’, ‘बा : एक योद्धा’, ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’ समावेश छन्।
बोर्डको पछिल्लो विवरणअनुसार दसैँको अवसरमा प्रदर्शनमा आएका तीन नयाँ नेपाली चलचित्रमध्ये ‘आ बाट आमा २’ले सबैभन्दा राम्रो सुरुवात गरेको छ। असोज ३० गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रले कात्तिक ८ गतेसम्म १ लाख ३१ हजार ४९१ टिकट बिक्री गर्दै ४ करोड ११ लाख ४६ हजार ८४८ रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
दसैँमा प्रदर्शनमा आएको अर्को चलचित्र ‘छ माया छपक्कै २’ले ८२ हजार ७५९ टिकट बिक्री गर्दै २ करोड ७६ लाख ३९ हजार ६५ रुपैयाँ ग्रस व्यापार गरेको छ। असोज ३१ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्र दसैँका तीन सिक्वेलमध्ये कमाइका आधारमा दोस्रो स्थानमा छ।
त्यस्तै, असोज ३० गतेदेखि प्रदर्शनमा आएको ‘१२ गाउँ २’ले ५७ हजार ९८३ टिकट बिक्री गर्दै १ करोड ८३ लाख ९४ हजार ८८६ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। यससँगै दसैँमा प्रदर्शनमा आएका तीन सिक्वेलको कुल ग्रस व्यापार ८ करोड ७० लाख रुपैयाँभन्दा माथि पुगेको देखिन्छ।
दसैँअघि नै प्रदर्शनमा रहेका चलचित्रमध्ये भने ‘गौँथली’ सबैभन्दा अगाडि छ। साउन १ गतेदेखि प्रदर्शनमा रहेको यस चलचित्रले अहिलेसम्म ९ लाख ४४ हजार ८१७ टिकट बिक्री गर्दै २६ करोड ३ लाख १४ हजार ९० रुपैयाँ ग्रस कलेक्सन गरेको छ। यससँगै ‘गौँथली’ २०८३ सालमा प्रदर्शन भएका नेपाली चलचित्रमध्ये सर्वाधिक कमाउने चलचित्रका रूपमा अगाडि देखिएको छ।
त्यस्तै, भदौ २६ गतेदेखि प्रदर्शनमा रहेको ‘पेन्सन पट्टा’ले ३ लाख ६० हजार ५९३ टिकट बिक्री गर्दै १० करोड २३ लाख ५६ हजार १३८ रुपैयाँ ग्रस व्यापार गरेको छ।
असोज ९ गतेदेखि प्रदर्शनमा आएको ‘बा : एक योद्धा’ले १ लाख २६ हजार १८२ टिकट बिक्री गर्दै ३ करोड ५१ लाख ३९ हजार ४८ रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
चलचित्र विकास बोर्डले बक्स अफिस रिपोर्ट सार्वजनिक गर्ने प्रक्रियालाई नियमित बनाउँदै हरेक सोमबार साप्ताहिक बक्स अफिस विवरण सार्वजनिक गर्ने गरेको छ। बोर्डले यस्तो विवरण आफ्नो आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालका पेजमार्फत सार्वजनिक गर्छ ।





