
काठमाडौं – नेपाल सरकारबाट चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका मनिष पण्डितले सोमबार पद तथा गोपनीयताको शपथ लिँदै औपचारिक रूपमा कार्यभार सम्हालेका छन्।
गत असोज ३० गतेको मन्त्रिपरिषद् बैठकबाट नियुक्त भएका उनलाई सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा मन्त्री डा. विक्रम तिमिल्सिनाले शपथ गराएका हुन्। शपथ ग्रहण लगत्तै उनले चाबहिलको सरस्वती नगरस्थित बोर्डको कार्यालय पुगेर आफ्नो दुई वर्षे कार्यकालको पदभार ग्रहण गरेका छन्।
निवर्तमान अध्यक्ष दिनेश डिसीको कार्यकाल समाप्त भएपछि परेका १२ जना आवेदकको अन्तिम सर्ट लिस्ट (मनिष पण्डित, निशा अधिकारी र नरेशकुमार पौडेल) बाट सरकारले पण्डितलाई बोर्डको १९औँ अध्यक्षका रूपमा चयन गरेको हो। सन् २०१७ को चलचित्र ‘ग्याङस्टर ब्लुज’ मार्फत कार्यकारी निर्माताको रूपमा चलचित्र क्षेत्रमा प्रवेश गरेका पण्डित निर्माता तथा लेखक समेत हुन्।
यसअघि निकिता पौडेलको नेतृत्वमा बोर्डमै ‘बक्स अफिस कन्सल्टेन्ट’का रूपमा काम गरिसकेका उनी करिब ८ वर्षपछि सोही निकायको सर्वोच्च पदमा पुगेका हुन्।




