शिवम अधिकारीको निर्देशनमा ‘सेतो कोट’ बन्ने, नीर, अशोक र पूजा मुख्य भूमिकामा



चलचित्र 'सेतो कोट'को मुहूर्त कार्यक्रममा कलाकार

काठमाडौं । मिनु शर्मा प्रोडक्सनको प्रस्तुति रहने चलचित्र ‘सेतो कोट’को मुहूर्त गरिएको छ। शिवम अधिकारीको लेखन तथा निर्देशन रहने यस चलचित्रमा नीर शाह, अशोक दर्जी र पूजा शर्माको मुख्य भूमिका रहनेछ। कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा पूजाआजापछि आयोजित एक कार्यक्रमबीच मुहूर्त गर्दै चलचित्रबारे जानकारी दिइएको हो।

मुहूर्त सटमा अशोक दर्जी र पूजा शर्माले संवाद बोलेका थिए भने नीर शाहले निर्देशन गरेका थिए। शोभित बस्नेत क्ल्यापमा र पत्रकार सरिता भारती क्यामेरामा थिइन्। नरिवल चर्चित खलनायक सुशान्त श्रेष्ठले फुटाएका थिए।

‘सेतो कोट’ निर्माता मिनु शर्माको दोस्रो चलचित्र हो। आफ्नो पहिलो चलचित्र सफल भए पनि आफू जहाँको त्यहीँ रहेको बताउँदै उनले यस चलचित्रले आफूलाई पनि सफल बनाउने अपेक्षा गरेकी छन्।

‘माइली बुहारी’ नामले परिचित सुमित्रा दाहाल यस चलचित्रमार्फत ठूलो पर्दामा डेब्यु गर्दैछिन्। आफूलाई हँसाउनभन्दा रुवाउन सहज हुने बताउँदै उनले निर्मातासँगको कुराकानीपछि चलचित्रमा जोडिएको बताइन्।

सेतोपनको अभाव भइरहेको बेला यस चलचित्रले सेतोपन जोगाउने अपेक्षा अभिनेता नीर शाहले राखेका छन्। अभिनेता अशोक दर्जीले यो टिमसँग काम गर्न उत्साहित रहेको बताए भने अभिनेत्री पूजा शर्माले कथा खुल्ने भएकाले धेरै प्रश्न नगर्न आग्रह गरिन्। पटकथा लेखनमै व्यस्त रहँदै आएका शिवमले यसपटक समय छुट्याएर निर्देशनको जिम्मा लिएका हुन्।

निर्माण पक्षका अनुसार चलचित्रको कथामा मौलिकता, सामाजिक यथार्थ र भावनात्मक गहिराइलाई विशेष महत्त्व दिइएको छ। नेपाली चलचित्रमा कमै उठ्ने विषयलाई मनोरञ्जनात्मक र प्रभावशाली शैलीमा प्रस्तुत गर्ने लक्ष्य राखिएको छ। कथाको मूल भाव र घटनाक्रम भने अहिले गोप्य राखिएको छ।

मिनु शर्मा प्रोडक्सनको ब्यानरमा बन्ने चलचित्रका निर्माता मिनु शर्मा ‘सपना’ र सन्देश थापा ‘काजी’ हुन् भने कार्यकारी निर्माता फणीन्द्र तामाङ हुन्। चलचित्रमा नीर, अशोक, पूजा र सुमित्राका साथै पवन खतिवडा ‘बाबा’, विष्णु सापकोटा ‘हर्के हवलदार’, सुशान्त कुमार श्रेष्ठ, साम्राज्ञी थापा, सम्मान थापा, रामेश्वर रिजाल, दीपेन्द्र भण्डारी, कपिल खड्का, कृषा घिमिरे, सुप्रिया शर्मालगायतको अभिनय रहनेछ।

चलचित्रको छायांकन काठमाडौं, मकवानपुरलगायत नेपालका ग्रामीण भेगमा गरिनेछ। छायांकन सौरभ लामा, सम्पादन बन्दे प्रसाद र संगीत स्टिभ शंकरको रहनेछ। हेड अफ प्रोडक्सन अरुण रेग्मी, मुख्य सहायक निर्देशक नवराज शर्मा, बजार व्यवस्थापन भावेश ढकाल, प्रचार सामग्री सञ्जीव खड्की, कला निर्देशन डुक्राज र सह-निर्देशन दीप्त प्रकाश अधिकारी तथा एलियास मलिकको रहनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu