ठुलोपर्दा डटकम, काठमाण्डौ ।
प्रणय दिवसको अवसर पारेर चलचित्र विकास वोर्डका सदस्य समेत रहेका निर्देशक सुरेश दर्पण पोखरेलले आफ्नो निर्देशन रहने फिल्म ‘लभ वर्डस्’को निर्माण घोषणा गरेका छन् । अनमोल केसीलाई लिएर फिल्म निर्माण गर्न खोजेका सुरेश दर्पणले उनको भूमिका मोड्लिङक्षेत्रमा सफल रहेका पल शाहलाई दिएका छन् । अनमोलले ८ महिना कुर्न अनुरोध गरेपछि दर्पणले शाहलाई अनमोलको रोल थमाउँदै फिल्म निर्माणको घोषणा गरेका हुन ।
दर्पणले केही महिना देखि अनमोल केसीलाई आफ्नो फिल्ममा अनुबन्ध गराउन खोजेका थिए । ‘लभ वर्ड्स’मा अनमोलको रुचि हुँदा-हुँदै पनि सम्झौता गरिसकेका दुई चलचित्र ‘ड्रिम्स’ र ‘ग्याङ्गस्टार ब्लुज’ पछि मात्र समय दिन भ्याउने भएपछि अनमोललाई पल शाहले रिप्लेस गरेका हुन् । पलको जोडीको रुपमा मोडल बर्षा राउत रहनेछिन् ।
प्रणय दिवशको अवसर पारेर सुरशे दर्पणले काठमाडौंमा एक कार्यक्रमका विच चलचित्र लभ वर्डस् को निर्माण घोषणा गरेका हुन् । पल शाह, बर्षा राउत सँगै यस फिल्ममा सलोन बस्नेत र सञ्जोग कोइराला पनि चलचित्रको मुख्य भुमिकामा देखिनेछन् । बैशाख देखि छायांकन सुरु हुने ‘लभ वर्डस्’ को अधिकांश सुटिङ पोखरा र चितवनमा हुने छ । चलचित्रको कथा र संगीत पोखराका गायक शोभित बस्यालले तयार गरेका हुन ।
चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय चलचित्र ‘लभ वर्डस्’का कार्यकारी निर्माता हुन् । निर्देशक सुरेश दर्पणका अनुसार चलचित्र लभ वर्डस् प्रेम कथामा आधारित रहनेछ ।