ठुलोपर्दा डटकम, काठमाण्डौ ।
फाल्गुण १५ मा देशव्यापी रिलिज हुन लागेको नेपाली चलचित्र ‘अझै पनि’ यूनिट प्रणय दिवसमा आयोजित एक भव्य कार्यक्रममा सहभागि भएको छ । कायरा बुटिकले आयोजना गरेको ‘भ्यालेण्टाइन रनवे रोमाञ्स’मा आफ्नो बिशेष प्रस्तुती दिँदै प्रेम दिवस र चलचित्रको बिशेष अर्थ दर्शाएको छ ।
नेपालका चर्चित सेलिब्रेटीका जोडीले क्याटवाक गरेको उक्त कार्यक्रममा ‘अझै पनि’ युनिट पनि रनवेमा देखिएको हो । चलचित्रका तर्फबाट मुख्य कलाकारहरु तथा निर्माता सहभागी थिए । नायक सुदर्शन थापा र नायिका पुजा शर्मा त्यस्तै अर्का नायक पुष्प खड्का र नायिका सुरक्षा पन्त रनवेमा प्रणय झल्काउँदै हिँडेका थिए भने निर्माताद्वय पुनम गौतम र सुदर्शन थापाले पनि क्याटवाक गरे ।
कार्यक्रममा बोल्दै निर्माता पुनम गौतमले चलचित्र रिलिज मिति नजिकिँदै गर्दा आफु उत्साहित रहेको र बिशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको कार्यक्रममा ‘अझै पनि’को प्रस्तुती राख्न पाउँदा खुशीले गद्गद् भएको बताईन् । उनले कला क्षेत्रलाई माया गर्ने सम्पूर्णको साथ पाए चलचित्र सफल हुने जिकिर गरिन् । साथै, अर्का निर्माता तथा नायक सुदर्शन थापाले फरक प्रकृतिका चलचित्र भन्दै चलचित्र क्षेत्रमा बनिरहेका चलचित्र जस्ता नभएर पुरानै शैलिमा नेपाली समाज भित्रकै महत्वपू्र्ण घटना र कथालाई लिएर चलचित्र बनेको बताए । उनले स्व. निर्देशक आलोक नेम्वाङ्को अन्तिम चलचित्र ‘अझै पनि’ उत्कृष्ट बनेको दावी गर्दै चलचित्र हेरेर साथ दिन सबैलाई आग्रह गरे ।
‘भ्यालेण्टाइन रनवे रोमाञ्स’मा चलचित्र क्षेत्रका केही चर्चित जोडीहरुले क्याटवाक गरे । नायिका झरना थापा र निर्माता सुनिल कुमार थापा, नायक मुकेश ढकाल र नायिका मेलिना मानन्धर, नायिका निता ढुंगाना र नायक आमेश भण्डारी, नायक दीलीप रायमाझी र उनकी श्रीमति मञ्जु रायमाझी, फेसन डिजाईनर विश्व गौतम र उनकी श्रीमती साथै साप्ताहिक पत्रिकाका सम्पादक सुवास ढकाल र उनकी श्रीमतीले क्याटवाक गरेका थिए ।