ठुलोपर्दा डटकम, काठमाण्डौ ।
स्लोभानियाको माउण्टेन फिल्म फेस्टिबल दोम्जालेमा पत्रकार भोजराज भाटले निर्देशन गरेको नेपाली वृतचित्र सुनकलीले अन्तर्राष्ट्रिय पुरस्कार पाएको छ । यही फागुन ११–१५ सम्म चलेको उक्त फिल्म फेस्टिबलमा सुनकलीले माउण्टेन, नेचर तथा कल्चर विधामा जुरी अवार्ड पाएको हो ।
अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव ‘किम्फ’को १२ औं संस्करणमा उत्कृष्ट भएको उपल्लो डोल्पासम्बन्धी वृतचित्र डेज अफ ट्याप र नेपाल प्यानोरमातर्फ छोटो फिल्ममा उत्कष्ट पुन्टेको पांग्रो पनि सोल्भानियाको उक्त फिल्म महोत्सवमा छनौट भएका थिए । किम्फमा पर्वतीय विकासका विषयमा बनाइएका फिल्ममध्ये उत्कृष्ट घोषित भएर सुनकलीले एक हजार अमेरिकी डलरको इसिमोड अवार्डसहित जुरी अवार्ड पनि पाएको थियो ।
हरेक वर्ष स्लोभानियाको राजधानी लुबियानामा हुने गरेको फिल्म महोत्सवमा यसपटक २६ देशका ५० फिल्म तथा वृतचित्र सहभागी भएका थिए । तीमध्ये अमेरिकाको जेफ रोइज मेटानोयाले उत्कृष्ट अवार्ड पाएको थियो । त्यसबाहेक उक्त महोत्वसमा तीन वटा अमेरिकी, दुई जर्मनी, दुई बेलायत अनि नेपाल र फ्रान्सका एक–एक वृतचित्रले विभिन्न विधामा पुरस्कार पाएका हुन् । यद्यपि, स्लोभानियाबाट प्रतिष्पर्धाका लागि छनौट भएका ६ वटा फिल्म तथा वृतचित्रले कुनै अवार्ड पाएनन्। मुगुकी १३ वर्षीया सुनकली र उनको फुटबल टिमले जिल्ला बाहिरसम्म पुगेर गरेको जितको अनुभवसम्मलाई पत्रकार भोजराज भाटले डकुमेन्टेसन गरेका हुन् ।
यसपटक किम्फको १२ औं संस्करणको उद्घाटन पनि सनकलीको विशेष स्त्र्किनिङसँगै गरिएको थियो । स्लोभानियामा पुरस्कृत भएका सबै वृतचित्र तथा फिल्मको महोत्सवको अन्तिम दिन पुनः स्त्र्किनिङ गरिएको थियो ।