ठुलोपर्दा डटकम, काठमाण्डौ ।
विश्व चलचित्र इतिहासमानै सबैभन्दा कम उमेरमा चलचित्र निर्देशन गरेर ‘गिनिज बुकमा’ नाम लेखाउन सफल सौगात बिष्ट ‘शान्ता राष्ट्रिय उत्कृष्ट बाल पुरस्कार २०७१’बाट पुरस्कृत भएका छन् । शिशु सेवा समितीको ३२ औँ बाषिर्कोत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा उनलाई नगद १० हजारसहित ताम्रपत्रले पुरस्कृत गरिएको हो ।
सभासद कविता सरदारले सौगातलाई पुरस्कार प्रदान गरिन् । सम्मान ग्रहण गरेपछि कार्यक्रममा बोल्दै निर्देशक सौगात विष्टले आफुलाई यो सम्मानले अझ धेरै जिम्मेवारी थपेको बताए । चलचित्र निर्माणको थालनी देखी ‘गिनिज बुकमा’ नाम लेखाउन सम्म साथदिने सबैलाई धन्यवाद दिँदै उनले अगामी दिनहरुमा पनि यसरीनै माया र साथ दिन आग्रह गरे ।
‘गिनिज बुकमा’ नाम लेखाए सँगै अहिले सौगात सम्मान थापिरहेका छन् । ७ बर्ष ३४० दिनको उमेरमा चलचित्र ‘लभ यू बाबा’ निर्देशन गरेर सौगातले गिनिज बुकमा नाम लेखाएका थिए । उनले निर्देशन गरेको चलचित्र लब यू बाबा गएको मंसिर २६ गते देशव्यापी प्रदर्शनमा आएको थियो ।