ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चैत्र २७ गते रिलिज हुने नेपाली चलचित्र ‘नाईं नभन्नु ल ३’को फस्टलुक पोस्टर रिलिज गरिएको छ । ‘नाईं नभन्नु ल’ र त्यसको सिक्वेल ‘नाईं नभन्नु ल २’ लाई दर्शकले रूचाएपछि निर्माण भएको ‘नाईं नभन्नु ल ३’ लाई पनि दर्शकले निकै मनपराउने निर्देशक तथा यस चलचित्रका निर्माता विकास आचार्यले जानकारी दिए ।
‘नाईं नभन्नु ल ३’को सार्वजनिक पोस्टरमा फिल्मका मुख्य पात्रहरू अनुभव रेग्मी, सफला भट्टराई, आर्यन सिग्देल, प्रियंका कार्की, सञ्चिता लुईँटेल, सुरज सिंह ठकुरी, संयम पुरी र आश्मा डिसीलाई प्रस्तुत गरिएको छ । फिल्मको पोस्टरले मायाप्रेमको कथा झल्काउँछ । शाहिल खानले उक्त सार्वजनिक पोष्टरलाई डिजाईन गरेका हुन् ।
सांगीतिक प्रेमकथामा बनेको ‘नाईं नभन्नु ल ३’ लाई मुस्कान ढकालले निर्देशन गरेका हुन् । ‘नाईं नभन्नु ल’ सिरिजका अघिल्ला दुई भागलाई विकास आचार्यले निर्देशन गरेका थिए । यस चलचित्रमा बसन्त सापकोटाको संगीत रहेको छ । वान टाइम सिनेमा प्रालीको व्यानरमा बनेको यो फिल्मका लेखक तथा निर्माता विकास आचार्य हुन् ।