ठुलोपर्दा डटकम, काठमाण्डौ।
अठारौं शताब्दीको पुर्वाद्धमा तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले कीर्तिपुर आक्रमण गरिएको विषयमा आधारित भएर निर्माण भएको चलचित्र ‘कीर्तिपुर, द लिजेन्ड अफ कीर्तिलक्ष्मी’लाई सेन्सर बोर्डले यूनिभर्सल सर्टिफिकेट दिएको छ । अब चलचित्रलाई सबै बर्गका दर्शकले हेर्न पाउनेछन् ।
करिब ४ महिनासम्म विभिन्न कारणले सेन्सर बोर्डमा अझिएर बसेको चलचित्र कीर्तिपुरलाई अन्तत सेन्सर बोर्डले यूनिभर्सल सर्टिफिकेट दिँदै सेन्सर फुकुवा गरिदिएको छ । चलचित्र निर्माण शैली अब्बल भए पनि ऐतिहासिक पक्ष तथा राजपरिवारसम्बन्धी विषय भएकाले तुरुन्तै निर्णय गर्न नसकिने भन्दै सेन्सर बोर्डका सदस्य तथा सञ्चार मन्त्रालय उपसचिव कृष्णप्रसाद पोखरेलले चलचित्र कीर्तिपुरलाई सेन्सरमा रोक लगाइका थिए तर अन्तिममा सुचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाललेनै चलचित्र हेरेपछि कीर्तिपुरले सेन्सर बोर्डबाट यूनिभर्सल सर्टिफिकेट प्राप्त गरेको हो ।
चलचित्रको चाँडै प्रदर्शन मिति सार्वजनिक गरिने निर्माणपक्षले जानकारी दिएको छ । फोकस पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई प्रदीप खड्गीले निर्देशन गरेका हुन् । चलचित्रमा हिसिला महर्जन, मणि लवट, सुरज गराच, लक्ष्मी गिरी, मदनदास श्रेष्ठ, शूरवीर पण्डित, सुशील राजोपाध्याय, विनोद श्रेष्ठ, उदय श्रेष्ठलगायतले अभिनय गरेका छन् । त्यसैगरी चलचित्रमा सन्तोष केसीको एनिमेसन, हरिशरण सायमीको संगीत, उदय श्रेष्ठको द्वन्द्व, मृत मरहठा र दीपसन परियारको शृंगार एवं शंकर महर्जन तथा नवीन जोशीको छायांकन रहेको यस चलचित्रमा वीरेन्द्र ताम्रकार, प्रेम खड्गी र अनन्त श्रेष्ठको लगानी रहेको छ।