बालेनको भाइरल लाइन ‘झिक्कै झिक्कै माया तम्लाई’ गीत बन्यो, राजेश पायलले दिए उपहार



काठमाडौं – चुनावी प्रचारप्रसारका सिलसिलामा सुदूरपश्चिमका विभिन्न जिल्ला पुगेका बालेन शाहले सामाजिक सञ्जालमा लेखेको एउटा हरफले यति बेला नयाँ साङ्गीतिक आकार प्राप्त गरेको छ। हिउँले सेताम्मे भएको सडकमा उभिएको आफ्नो तस्बिर राख्दै उनले लेखेका थिए, ‘सुदूर अब दूर नाइँ, झिक्कै झिक्कै माया तम्लाई।’ राजनीतिक सन्देशसँगै सुदूरपश्चिमप्रतिको अगाध प्रेम झल्काउने उनको यो स्ट्याटस छोटो समयमै इन्टरनेटमा भाइरल बनेको थियो। यसै शब्दावलीलाई प्रयोग गरेर लाखौँ टिकटक र रिल्सहरू निर्माण भए भने अहिले पनि यो प्रेमिल विम्ब आम मानिसको जनजिब्रोमा उत्तिकै लोकप्रिय छ।

बालेनको त्यही चर्चित र सुमधुर क्याप्सनलाई टिपेर लोकप्रिय गायक राजेश पायल राईले भने एउटा पूर्ण गीत नै तयार पारेका छन्। गायक राईले बालेनलाई चुनावी सफलताको शुभकामना व्यक्त गर्दै उक्त गीत दर्शक-श्रोतामाझ पस्किएका हुन्। सामाजिक सञ्जालमार्फत गीतको भिडियो लिङ्क सेयर गर्दै उनले बालेनको सोही भाइरल स्ट्याटसको स्क्रिनसट समेत राखेका छन्।

गीतलाई बालेनप्रतिको विशेष समर्पण बताउँदै राईले उनलाई ‘भावी प्रधानमन्त्री’ को संज्ञा समेत दिएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले गीत नै उपहार दिएँ। बाँकी हेर्नु नहेर्नु तपाईँको अधिकार। भावी प्रधानमन्त्री बालेन शाहको स्ट्याटसबाट लिएको शब्द- झिक्कै झिक्कै माया तम्लाई।’ एउटा राजनीतिक नेताको अभिव्यक्तिका शब्दहरूले यसरी साङ्गीतिक सिर्जनाको रूप लिनुलाई धेरैले रोचक मानेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu