दर्शकको माया नै मेरो भबिष्य: अनामिका चौलागाईं



Anamika-interview-featureकाभ्रेपलाञ्चोककी स्थायिवासी हुन् अनामिका चौलागाईं, जो नेपाली चलचित्र क्षेत्रमा नायिका बन्न सक्छु भनेर काठमाण्डौ भित्रिएकी थिईन्। उनले चलचित्र उद्योगमा नायिका बन्नका लागि २ बर्ष देखी निकै कडा मेहनत गरेको बताउँछिन्। परिवार यस क्षेत्रमा नभए पनि उनलाई चलचित्र प्रतिको झुकावले यही क्षेत्रमा डोर्यारयो। बिशेष गरी चलचित्रको नायिका बन्ने सोख र सपनाका कारण उनले अभिनयलाई जोड दिँदै छोटो अवधिमा नै चलचित्रको मुख्य नायिका बन्न पाएकी छिन्। अनामिकाले अभिनय गरेको चलचित्र ‘प्राण भन्दा प्यारो’ असोज चार गते रिलिज हुँदैछ।

नेपाली चलचित्र मौलिकपन झल्कने खाले पारिवारिक चलचित्र बनाउनु पर्छ र नेपाली नारी भएर चलचित्रमा अभिनय गर्नुपर्छ भन्ने धारणा भएकी नवनायिका अनामिकाचौलागाईं कमलकृष्ण निर्देशित चलचित्र ‘प्राण भन्दा प्यारो’ बाट नेपाली रजतपटमा उदाउने क्रममा छिन्। चलचित्रको प्रचार-प्रसारमा व्यस्त नव-नायिका अनामिकासँग ठुलोपर्दा डटकमका श्यामसुन्दर गिरीले गर्नुभएको कुराकानीको संपादित अश:

पछिल्लो चाहना के छ ?
अहिले म मेरो पहिलो चलचित्र ‘प्राण भन्दा प्यारो’को प्रचार प्रसारमा नै व्यस्त छु । चलचित्र आगामी असोज ४ गते बाट देशभर प्रदर्शन हुँदैछ । मेरो पहिलो चलचित्र भएको कारण पनि यो चलचित्र मेरो अग्नीपरिक्षा नै हुनेछ । त्यसैले चलचित्रको राम्रो प्रमोशन होस् र सबै नेपाली दर्शक माझ यो चलचित्रको जानकारी पुगोस भन्ने चाहना पनि छ ।

चलचित्र क्षेत्र नै रोज्नुका कारण ?
पहिलो कुरा त रुची, चाहना र सपना नै हो । दोस्रो कुरा म सानै देखी स्कूलमा हुने बिभिन्न कार्यक्रममा अभिनय गर्थेँ र मेरो अभिनय हेरेपछी साथीहरु र शिक्षक, शिक्षिकाहरुले पनि मलाई हौसला दिनुभएको थियो । उहाँहरुले तिमी एक दिन सफल अभिनेत्री बन्न सक्छौ भन्नुहुन्थ्यो र मेरो चाहना पनि अभिनय गर्नु नै थियो । त्यसर्थ मलाई अभिनय भन्दा अन्य पेशा प्रती खासै झुकाव नै थिएन । बरु जब सम्म म नायिका बन्न सक्दिन तब सम्म अभिनयमा निखारता ल्याउँछु भन्ने नै थियो । निरन्तर रुपमा म घरमा नै अभिनय गर्दै आएँ । अरु चलचित्र र नायिकाहरुको अभिनय हेर्ने गरे जसका कारण मैले एउटा राम्रो अवसर पाए ।

यदी नायिका नबन्नु भएको भए के बन्नु हुन्थ्यो ?
मेरो पहिलो रोजाइ र मन पर्ने क्षेत्र चलचित्र उद्योग नै थियो तर कथम कदाचित मैले यो अवसर प्राप्त नगरेको भए सायद फार्मेसी तिर हुन सक्थे । मेरो मामा माइजुहरु, दाजु भाउजु पनि स्वास्थ्य क्षेत्रमा नै हुनुहुन्छ ।

चलचित्र उद्योगमा आउन को बाट प्रभावित हुनुहुन्थ्यो ?
नायिका रेखा थापा र मल्टी ट्यालेन्ट निर्देशक कमलकृष्ण पौडेल, उहाँहरुको प्रभाव हो । मेरो लागि उहाँहरु आदर्श व्याक्तित्वका कारण आज नायिकाहरुको भिडमा म पनि संघर्षरत छु ।

पहिलो चलचित्र ‘प्राण भन्दा प्यारो’मा कस्तो भूमिका गर्नु भएको छ ?
एउटा लभर गर्ल, कसैको श्रीमती, समाजमा घट्ने बिभिन्न किसिममा घटनाको सिकार बन्नुपरेको नारी र अन्यायमा पर्दा कसरी आवाज उठाउनुपर्छ भन्ने चुनौतीपूर्ण भूमिका हो ।

पहिलो चलचित्रमा काम गर्दाको अनुभव कस्तो रह्यो त ?
सुरु-सुरुमा त निकै डर लागेको थियो । मेरो पहिलो क्यामरा फेस थियो । त्यसपछी चलचित्र युनिट एउटा परिवारको सदस्य जस्तो महशुस गर्दै गएँ र पछी-पछी सामान्य नै लाग्यो । एकदमै रमाइलो पनि हुँदो रहेछ र हाम्रो युनिट सहयोगी, मिलनसार पनि थियो ।

‘प्राण भन्दा प्यारो’बाट डेब्यू गर्दै हुनुहुन्छ, के अपेक्षा गर्नुभएको छ त ?
जो कोहिले पनि सके सम्म राम्रो गरुँ भनेर काम गरेको हुन्छ र गर्छ पनि । मेरो पहिलो चलचित्र ‘प्राण भन्दा प्यारो’मा मैले पनि निकै मेहनत गरेकी छु । सकेसम्म न्याय दिने कोशीस गरेकी छु । काम अनुसारको प्रतिफलको आशा त सबैलाई हुन्छ नै, त्यसैले ममा पनि एक किसिमको आशा अनी अपेक्षा छ । म ढुक्क छु यो चलचित्रलाई नेपाली दर्शकले मन पराइदिनुहुनेछ र अनामिका चौलागाईंलाई पनि माया गरिदिनुहुनेछ । कुनै दिन  स्थापित नायिकाको सुचिमा मेरो नाम पनि कोरिनेछ ।

अहिले आईरहेका अश्लिल चलचित्रको बारेमा के भन्नु हुन्छ ?
नायिकाले अङ्ग प्रदर्शन, अश्लिल दृष्य र संवाद बोलेर चर्चामा आएको र व्यापारिक रुपमा पनि त्यस्ता चलचित्रले मौलिक चलचित्रको तुलनामा राम्रो व्यापार गरेको जस्तो लाग्छ । मेरो बिचारमा कलाकार भएपछी अभिनय त गर्नै पर्छ तर समाजले पचाउन नसक्ने खाले भूमिका गर्नु जायज हुँदैन र सेक्स बेचेर नै सधैं भरी चलचित्र चल्छ जस्तो पनि लाग्दैन ।

भनेपछी तपाईं त्यस्ता चलचित्रबाट टाढा नै हो त ?
हेर्नुस् म बरु चलचित्र नै खेल्दिन तर आफ्नो स्वभिमान बेचेर, नेपाली सँस्कृति, परिवार, गाउँघर र समाजलाई बिर्सिएर आफुलाई पैसा कमाउनु छ, चर्चामा आउनु छ र चर्चित नायिकाको ट्याग भिर्नुछ भन्दैमा त्यस्ता अश्लिल किसिममा चलचित्रमा काम गर्दिन ।

नेपाली चलचित्र कत्तिको हेर्नुहुन्छ ?
म आँफै नेपाली चलचित्रमा छु भने नहेर्ने भन्ने कुरा आउँदैन । समय मिलाएर हेर्छु र मैले माथीनै भनेँ चलचित्र हेर्दा पनि अग्रज कलाकारहरु बाट धेरै कुरा सिक्ने अवसर पाएको छु ।

तपाईंको चलचित्र ‘प्राण भन्दा प्यारो’को प्रष्टोक्ति के हो ?
हामी जतीसुकै आदर्श, समय र परिवर्तनको कुरा गरे पनि अझै पनि गाउँघर, समाजमा नारीहरु माथि हुने दमन, अन्याय र अत्याचारको घटना रोकिएका छैनन् । आदर्शको कुरा र महिला हकहित र अधिकारको भाषण गर्ने त्यही समाजमा बलात्कार, हत्या जस्ता जघन्य अपराधहरु दिनप्रती दिन मौलाउँदै गएको छ । राज्यको फितलो कानुनका कारण अपराधीको मनोबल घटेको छैन र यस्ता घटना घटिरहेका छन् । ति घटनाहरु लाई निरुत्साहित गर्नैपर्छ भन्ने किसिमको सकारात्मक सन्देश मुलक चलचित्र हो । यसमा भरपुर मनोरञ्जन छँदैछ । चलचित्रले केहि न केहि सकारात्मक कुरा प्रष्ट्याउँछ । दर्शक ढुक्क भएर हलसम्म आउनुभए हुन्छ ।

चलचित्रमा तपाईं ‘बेड सिन’ पनि छ क्यारे ?
छ, तर सामान्य र एउटा वास्तविक श्रीमान-श्रीमतीमा जती । कुनै आपत्ती जनाउनुपर्ने भने छैन । सेन्सर पास भईसकेको दृश्य हो । चलचित्र हेरेपछी थाहा भईहाल्छ नि ।

पर्दामा कसैको श्रीमती हुँदा कस्तो अनुभव हुँदो रहेछ ?
एकदमै नौलो लाग्यो, किनकी यो नै मेरो पहिलो चलचित्र थियो । त्यसैले पनि कता-कता काउकुती लागेझै खुशी पनि थिए र एकदमै ‘नर्भस’ पनि थिएँ । श्रीमतीको भूमिका निर्वाह गर्दै-गर्दा कतै म नायक बासुजीको वास्तविक श्रीमती झैँ पनि लाग्यो ।

पर्दाभित्र र वास्तविक जीवनलाई कसरी हेर्नुभएको छ ?
पर्दाभित्र को जीवन र वास्तविक जीवनलाई तुलना गर्नै सकिँदैन । चलचित्र हेर्दा रोनाधोना, रोमाञ्स देखिन्छ तर त्यो कलाकारले केवल आफ्नो कर्तव्य पुरा गर्नका लागि गरिन्छ । छायांकन सेटबाट बाहिर निस्केपछी त फेरी आफ्नै वास्तविक दुनियाँ छ । चलचित्र हेरेर गरिने काल्पनिक जीवन र वास्तविकता वास्तवमै फरक छ ।

कस्ता पुरुषले अनामिकाको मन जित्न सक्छन् ?
मलाई बुझ्ने खाले, छुट्टै आकर्षक व्यक्तित्व भएको, राम्रो ‘लूक्स’ र फर्मल पुरुषले अनामिकाको मन सजिलै जित्न सक्छन् ।

चलचित्र उद्योगमा ह्यारेस्मेन्ट हुन्छ भनेको सुनिन्छ नि ?
सुन्नु, देख्नु र भोग्नु फरक फरक पाटो हो । हाम्रो चलचित्र क्षेत्रमा जतिपनी घटनाहरु आउने गर्छन् त्यो वास्तविकता भन्दा धेरै फरक हुन्छ जस्तो लाग्छ । एकले अर्कोको खुट्टा तान्ने प्रवृत्तीले गर्दा पनि बढी हल्ला फिँजिएको हो । त्यस्तो कुरा व्याक्ती विशेषमा पनि भर पर्छ ।

अब कस्ता चलचित्रमा कस्तो भूमिका निर्वाह गर्न चाहनु भएको छ ?
मौलिक चलचित्र नै मलाई मन पर्छ र सेन्टिमेन्टल ‘बोल्ड क्यारेक्टर’को, नारिप्रधान र सन्देश संवाहक नारीको भूमिका गर्न चाहन्छु ।

चलचित्रमा परिवर्तन गर्न चाहनुभएको कुरा ?
वास्तवमा नेपाली चलचित्र उद्योगमा वास्तविक प्रतिभाको धनीहरुले स्थान पाउन सकिरहेका छैनन् । नातावाद, कृपावाद र स्वार्थलाई त्यागेर समाजमा भएका प्रतिभाहरुलाई ल्याउनुपर्छ । चलचित्र उद्योग अझै पुरानै शैलीमा चलेको छ । प्रविधी, हलको वर्गिकरण र बक्स अफिस कार्यावन्यन हुनुपर्छ ।

मन पर्ने तीन ‘सेलिब्रेटी’ ?
राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ र निर शाह ।

अन्त्यमा ?
‘प्राण भन्दा प्यारो’ हेरिदिनु होला । एउटा मौलिक नेपाली चलचित्र हो यो । तपाईंले खरिद गर्नु हुने टिकटको मुल्य र समय अवश्य पनि खेर जाने छैन । चलचित्र हेरिसकेपछी मलाई एउटी चेली सम्झेर सल्लाह, सुझाव तथा प्रतिकृया दिनुहोला । राम्रो लागे ताली दिनुस् नराम्रो लागे गाली नै दिनुस् । आम नेपाली दर्शकहरुको मायाले नै मेरो आगामी चलचित्रको रुपरेखा कोर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu