
काठमाडौं । अभिनेता राजेश हमालले नेपालको सीमा समस्या र राष्ट्रिय नेतृत्वको क्षमतालाई लिएर गम्भीर चिन्ता व्यक्त गरेका छन्। आज आफ्नो आधिकारिक फेसबुक पेजमार्फत एक विचारोत्तेजक स्टाटस लेख्दै हमालले स्थानीय स्तरमा हुने ‘सीमापार अतिक्रमण’ र विदेशी राज्यकै संलग्नतामा हुने ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ बीचको तात्विक भिन्नता प्रस्ट पारेका हुन्।
खुला सीमा, नदीको धार परिवर्तन वा स्थानीय कारणले हुने अतिक्रमणलाई आपसी संवाद र प्रशासनिक तवरले सुल्झाउन सकिने भए पनि, कालापानी–लिपुलेक–लिम्पियाधुरा जस्ता क्षेत्रमा विदेशी राज्यसंयन्त्र, सुरक्षा निकाय र पूर्वाधार नै प्रयोग गरेर गरिने अतिक्रमण अत्यन्तै रणनीतिक र गम्भीर हुने उनको भनाइ छ। आजको अनिश्चित र उथलपुथलपूर्ण विश्व राजनीतिमा देशको सार्वभौमिकता सुरक्षित राख्न परिपक्व, अनुभवी र दूरदर्शी नेतृत्वको आवश्यकता रहेको औंल्याउँदै हमालले नेतृत्वको कमजोरी र निर्णय क्षमताको अभावले राष्ट्रले गम्भीर चुनौतीहरूको सामना गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत गराएका छन्।




