ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र विकास बोर्डले प्रदान गर्ने राष्ट्रिय चलचित्र पुरस्कार यस बर्ष हुने भएको छ । गत बर्ष एकसाथ ३ बर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ आयोजना गरेको चलचित्र विकास बोर्डले यो बर्षदेखी ‘राष्ट्रिय चलचित्र पुरस्कार’ हरेक बर्ष आयोजना गर्ने भएको छ ।
चलचित्र विकास बोर्डका नव नियुक्त अध्यक्ष राजकुमार राईका अनुसार केहि बर्ष देखी बर्षैनी हुन नसकेको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ अब भने हरेक बर्ष सहि मिति र समयमा हुने बताएका छन् । केहि दिन अगाडी बसेको चलचित्र विकास बोर्डको पहिलो बैठकले सुचना प्रकाशित गर्दै सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र बोर्डमा चलचित्रहरुको नाम दर्ता गर्न आग्रह गरिएको छ ।
वि.सं २०७१ साल वैशाख १ गतेबाट चैत्र मसान्तसम्म प्रदर्शनमा आएको नेपाली भाषाका, आदिवासी र जनजाती चलचित्रलाई समावेशका लागि विकास बोर्डले सुचना प्रकाशन गरेको हो । यस अघि राष्ट्रपति डा.रामवरण यादवको हातबाट वितरण गरिएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ यो पटक पनि राष्ट्रपति निवासमै वितरण गरिने बताइएको छ । ‘राष्ट्रिय चलचित्र पुरस्कार’ कहिले प्रदान गरिने भन्ने खबर चाहि सार्वजनिक गरिएको छैंन ।