ठुलोपर्दा डटकम, काठमाण्डौ।
झण्डै १७ बर्ष लामो अमेरिका बसाईपछि नेपाल फर्किएका अभिनेता सरोज खनालले शनिबार अमेरिका जानुको कारण बताएका छन् । राजधानीको सर्वनाम थिएटरमा चलचित्र निर्देशक राजेन्द्र शलभसँग अन्तरक्रियामा उनले नेपाली दर्शकहरुको मायाबाट टाढा रहन नसकेर नेपाल फर्किएको बताए ।
उनलाई सर्वनाम थिएटरमा उपस्थित अधिकाशं दर्शकहरुले अमेरिका भासिनु र त्यहाँ पाएको दुखको बारेमा प्रश्न सोधे र उनले भने, ‘म मेरो रहरले अमेरिका गएको होइन । मेरो श्रीमतीले आफ्ना सन्तानको भविष्यका लागि भएपनि अमेरिका जाऊँ भन्थिन् त्यसैले त्यो बेला एक कलाकार भन्दा पनि पतिको हैसियतले अमेरिका गएको थिए । त्यति बेला हाम्रो आर्थिक अवस्था पनि राम्रो थिएन अब केहि राम्रो भएको छ । अब नेपाली चलचित्रमै सम्पुर्ण समय खर्चिने छु ।’ उनले आफु अमेरिका बस्नुपर्दाको सबैभन्दा ठुलो प्रश्चातापको उत्तर दिँदै भने, ‘मैले म सँगै कलाकार सूर्यमाला शर्मालाई पनि अमेरिका लगेँ । मैले उहाँको विचार र इच्छा केहि पनि बुझिन । अमेरिका गएपछि उहाँ कुनै पनि स्टेज कार्यक्रममा नदेखिएपछि मैले जिन्दगीमै सबैभन्दा ठुलो गल्ति गरेको रहेछु भन्ने महशुस भयो ।’
उनले उक्त कार्यक्रममा आफुले हलिउड चलचित्रमा अभिनय गर्ने प्रयास पनि गरेको तर त्यो काम हुन नसकेको बताए । उनले भने , ‘हलिउड चलचित्रमा पनि अभिनयका लागि प्रयास गरेको थिएँ तर कसैले पनि पत्याएनन् । शून्यबाट सुरु गर्नुपर्ने रहेछ । फेरि त्यति झन्झट गर्न मन लागेन’ । उनले शनिबारै ५ मिनेटको एकल अभिनय प्रस्तुत गर्दै आफू अभिनयमा फर्किएको पनि उद्घोष गरे ।
१ घण्टा लामो अन्तरक्रिया गर्नुभन्दा अगाडी अभिनेता सरोज खनालले रंगकर्मी अशेष मल्लले लेखेको छोटो नाटकमा पनि अभिनय गरेका थिए ।