ठुलोपर्दा डटकम, काठमाण्डौ।
साउन भित्रै नयाँ संविधान ल्याउने प्रयासमा यति बेला नेपालका र्शिष दलहरु लागिरहेका छन् । त्यसैका लागि तयार पारिएको संविधानको मस्यौदामा पनि जनताहरुले आफ्नो सुझाव दिइसकेका छन् । मस्यौदामा जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राष्ट्रपतिको व्यवस्था हुनुपर्ने सुझाव पनि उल्लेख्य संख्यामा रहेको छ ।
अभिनेता राजेश हमालले पनि अबको कार्यकारी जनताको प्रत्यक्ष मतबाट चुनिनु पर्ने बताएका छन् । शनिवार राजधानीमा आयोजिक एक कार्यक्रममा बोल्दै उनले भने, ‘जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राष्ट्रपति हुनु पर्छ किनकी प्रधानमन्त्री र राष्ट्रपति चुन्ने अधिकार जनतालाई छ । यसो हुन सके जनताले आफूले चाहेको र खोजेको जस्तो व्यक्ति प्रधानमन्त्री र राष्ट्रपति बनाउन पाउनेछन् ।’
‘देशमा पटक पटक हुने सरकार परिवर्तनले जनता हैरान भएका छन् त्यसैंले पनि अब जनताको हातमै प्रधानमन्त्री र राष्ट्रपति चुन्ने अधिकार दिइनु पर्छ ।’ हमालले भने । सोहि कार्यक्रममा बोल्दै नायिका करिश्मा मानन्धरले पनि देशमा अब जनताबाट प्रत्यक्ष निर्वाचित व्यक्ति नै प्रधानमन्त्री र राष्ट्रपति बन्न पाउनु पर्ने धारण व्यक्ति गरेकी थिइन् । कार्यक्रममा निर्माता तथा निर्देशक तुलसी घिमिरे र अशोक शर्मा लगायतका चलचित्रकर्मी तथा कलाकारहरुले पनि प्रधानमन्त्री र राष्ट्रपति जनताले चुन्न पाउनु पर्ने बताएका थिए ।