यो वर्ष मनिषाका तीन चलचित्र



manisha-comeback

लामो समयको विश्रामपछि नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइराला यो वर्ष नयाँ गेटअपका साथ भारतमा पुनरागमन गर्दैछिन् । उनी यसपटक एकसाथ तीनवटा चलचित्रमा आउँदैछिन् ।

सबैमा उनी पहिलेभन्दा दुब्ली देखिनेछिन् । मनिषाको पुनरागमन हुने पहिलो चलचित्र ‘चेहेरे’ हो । रोहित कौशिकद्वारा निर्देशित यस चलचित्रमा उनले दुई फरक चरित्रमा अभिनय गरेकी छिन् । ध्वनिरहित चलचित्रमा हिट तर आधुनिक चलचित्रमा असफल हुने अभिनेत्रीको भूमिकामा मनिषालाई हेर्न पाइनेछ ।

‘एउटै पात्र भएपनि दुई अलग परिवेशमा अभिनय गर्नुपर्ने भएकोले यसमा सन्तुलन गर्न एकदम गाह्रो भो’, मनिषाले भनेकी छिन् । चलचित्रमा मनिषाबाहेक ज्याकी श्राफ, गुल्शन ग्रोभर, दिव्या दत्ता र आर्य बब्बरको मुख्य भूमिका छ । तर योभन्दा आशा गरिएको चलचित्र भने ‘दो पैसे की धूप चार आने की बारिश’ हो । किनभने यो चलचित्रबाट कुनै जमानाकी हिट अभिनेत्री दीप्ति नवल निर्देशक बन्दैछिन् ।

मनिषा र दीप्ति एकअर्काका मिल्ने साथी हुन् । मनिषालाई देख्न सकिने तेस्रो चलचित्र पार्थो घोषद्वारा निर्देशित ‘एक सेकेन्ड जो जिन्दगी बदल दे’ हो । यसअघि मनिषाले पार्थोका चर्चित चलचित्र युगपुरुष र अग्निसाक्षीमा अभिनय गरिसकेकी छिन् । पार्थोको यो थ्रिलर चलचित्रमा मनिषाको डबल रोल छ। पछिल्ला चलचित्रहरुमा मनिषा निकै मोटी देखिएकी थिइन् । शरीरलाई फिट राख्नुपर्छ भन्ने कुरा उनले अभिनेता सलमान खानबाट सिकेकी हुन् । अहिले उनले आफ्नो तौल धेरै घटाइसकेकी छिन् ।

त्यस्तै यति बेला मनिषा बलिउड चलचित्र ‘गेम’को छायांकनमा व्यस्त छिन् । मर्डर मिस्ट्री जर्नरमा राखिएको मनिषाको यो चलचित्र भारतको कन्नड राज्यमा भएको एक रहस्यमय हत्यामा आधारित रहेको बताइन्छ । एआर रमेशले निर्देशन गरिरहेको चलचित्र गेममा मनिषाले अर्जुन सर्जा र सामसँग अनस्क्रिन रोमन्स गर्दैछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu