ठुलोपर्दा डटकम, काठमाण्डौ।
शुक्रबारबाट प्रदर्शनमा आएको दुई नेपाली चलचित्र ‘जाउँ हिँड पोखरा’ र ‘कबड्डी कबड्डी’ले दर्शकको राम्रो साथ पाएका छन् । रिलिजको पहिलो दिन शुक्रबार र शनिबार दुबै चलचित्र देशैभर हाउसफुल भयो भने केहि हलमा दर्शकको ओफर फ्लो समेत भएको चलचित्रका निर्माताले बताएका छन् ।
अष्टनारायण, गोपीकृष्ण, गुण, पुष्पाञ्जली लगायत राजधानीमा हलहरुमा चलचित्र जाउँ हिँड पोखराले उत्कष्ट व्यापार गरिहँदा कबड्डी कबड्डी पनि राम्रो व्यापार गर्न सफल भएको छ । राजधानीका अधिकाशं मल्टिप्लेक्समा कबड्डी कबड्डीले १४ शो पाउँदै राम्रो कलेक्सन समेत गरेको छ ।
शोभित बस्नेतले निर्देशन गरेको चलचित्र जाउँ हिँड पोखरामा नायिका रेखा थापा र नायक जीवन लुईटेलको मुख्य भूमिका रहेको छ । चलचित्र ‘जाउ हिड पोखरा’ मा रेखा र जिवनका अलावा सम्राट सापकोटा, आरुष गुरुङ, जी के शर्मा र निर्देशक बस्नेतको समेत अभिनय रहेको छ । सलोन फिल्मसको ब्यानरमा सलिना बस्नेतको प्रस्तुती रहेको चलचित्रमा राम गौतमले लगानी लगाएका छन् भने कार्यकारी निर्माता गणेश ढकाल हुन् ।
चलचित्र कबड्डी कबड्डीमा दयाहाङ राई, सौगात मल्ल, रिश्मा गुरुङ, बिजय बराल, बुद्धी तामाङ, शिशिर वाङ्देल, अरुणा कार्की, कमलमणी नेपाल लगायतका कलाकारको अभिनय रहेको छ । रामबाबु गुरुङ निर्देशित यस चलचित्रका कार्यकारी निर्माता निश्चल बस्नेत हुन् भने ओमचन्द रौनियार र अर्जुन कार्की सह-निर्माता छन् ।