ठुलोपर्दा डटकम, काठमाण्डौ।
फागुन ७ गतेबाट देशव्यापी प्रदर्शन हुन लागेको चलचित्र ‘को आफ्नो’को अफिसियल प्रदर्शन मिति र ट्रेलर सार्वजनिक गरिएको छ । वुधबार काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र यूनिटले ट्रेलर र प्रदर्शन मिति सार्वजनिक गरेको हो ।
चलचित्रका निर्देशक अनिल थापाले कार्यक्रममा बोल्दै भने -‘चलचित्रका कलाकारको कामबाट म प्रभावित भएको छु किनकी चलचित्रका कलाकारहरुले उत्कृष्ट काम गर्नुभएको छ ।’ चलचित्रका लेखक तथा निर्देशक अनिल थापाका अनुसार आफ्नो अधिकारका लागि लड्नु अपराध होइन भन्ने कथामा ‘को आफ्नो’ बनेको छ ।
नायिका ऋचा शर्माले आफुले चलचित्रमा निकै दुख गरेको बताईन् । उनले भनिन्, ‘अनुहार बनाउनका लागि मेकअप आर्टिष्टलाई खुबै मिहिनेत गर्नुपरेको थियो । मेकअप आर्टिष्टकै सिफारिशमा अनुहारमा नयाँ कुरा देखिएको छ । खासमा यो आइडिया मेकअप आर्टिस्टको हो । मेरो हाँसो लुकाउन उसले मलाई अगाडी दाँत राख्न सल्लाह दियो र मैंले त्यसै गरें । मुखमा दाग लगाउनु पर्ने स्क्रिप्टमै उल्लेख गरिएको थियो ।’
नेपालको पश्चिम पहाडको जनजिवनमा आधारित यस चलचित्रमा ऋचाले एउटी अधबैंसे गाउँले महिलाको चरित्र निर्वाह गरेकी छिन् । चलचित्रमा ऋचा शर्मा, संशाक मैनाली, सुवास थापा, मेनुका प्रधान, सुदाम सिके, राजन खतिवडा, शान्ति गिरी, सुलक्षण भारती लगायतका कलाकारहरु देखिएका छन् ।