
ठुलोपर्दा डटकम, काठमाण्डौ।
जेठ २८ मा रिलिज हुने चलचित्र ‘गाजलु’ले कुनै सम्प्रदायलाई ठेस नपुर्याएको निर्माता रोहित अधिकारीले बताएका छन् । नेवारी परम्परामा रहेको कुमारी प्रथाको कथालाई लिएर टिकाटिप्पणी भएपछि मंगलवार एक प्रेस विज्ञप्ती जारी गर्दै अधिकारीले चलचित्रमा कुमारी पश्चातका जीवनमा कुमारीलाई समाजले हेर्ने दृष्टिकोणको बारेमा मात्र देखाईएको उल्लेख गरेका छन् ।
विज्ञप्तीमा भनिएको छ, ‘बैशाख २ गते बुधवार ट्रेलर रिलिज भएको नेपाली कथानक चलचित्र ‘गाजलु’ले कुनै पनि जाति बिशेषको सम्प्रदाय परम्परालाई लिएर कोहि कसैको मनोभावना तथा सँस्कृतिलाई ठेस पुर्याउने उद्देश्यले प्रस्तुत गर्न खोजिएको होइन’ । चलचित्र समाजको ऐना भएको उल्लेख गर्दै समाजको हरेक गतिविधीमा आधारित रहेर चलचित्र निर्माण भएको बताईएको छ । विज्ञप्तीमा यस चलचित्रले दर्शकलाई मनोरञ्जनको साथै चेतनाको स्तर अभिवृद्दी गरि एउटा समृद्द समाजको श्रृजना गर्न मद्दत पुर्याउने विश्वास लिईएको छ ।
साथै, कुनै पनि जातिको परम्परा तथा सँस्कृतिमाथि प्रश्न उठाउन नखोजिएको बताईएको छ । चलचित्र प्रदर्शन गर्नुअगावै कुमारीघरका पदाधिकारीहरुलाई देखाई आवश्यक सरसल्लाह समेत गरिने विज्ञप्तीमा जनाईएको छ ।






