निस्पक्ष रुपमा योग्य व्यक्तिलाई मतदान गरौँ: चलचित्रकर्मी



ठुलोपर्दा डटकम, काठमाण्डौ। निर्वाचन आयोगको सहकार्यमा नेपाल चलचित्र निर्देशक समाजले आयोजना गरेको ‘ऐतिहासिक संविधान सभा निर्वाचनमा चलचित्रकर्मीहरुको दायित्व र भूमिका’ बिषयक अन्र्तक्रिया सम्पन्न भएको छ। कार्यक्रममा नायक राजेश हमाल, नायिका करिश्मा मानन्धर, निशा अधिकारी, गायिका कुन्ती मोक्तान, गायक राजेशपायल राई, कलाकार बसुन्धरा भुषाल, चलचित्र पत्रकार संघका अध्यक्ष बिदुर गिरी, संगीतकार शम्भूजित बास्कोटा, हाँस्यकलाकार दिपकराज गिरी, चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, चलचित्र कलाकार संघका महासचिव रामकेशर बोगटी, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले आफु र आफ्नो परिवार सहित छिमेकीलाई पनि चुनावमा भोट हाल्ने प्रतिबद्दता व्यक्त गरेका छन्।

कार्यक्रममा निर्वाचन आयोगका प्रमुख आयुक्त निलकण्ठ उप्रेती प्रमुख अतिथी  थिए। कलाकारको बोली र व्यक्तित्वले जनमानसमा राम्रो प्रभाव पर्ने बताउँदै उप्रेतीले यस्ता प्रकारका धेरै कार्यक्रमहरु गर्ने इच्छा हुँदा हुँदै पनि समय अभावले नपाएको बताए। आयुक्त उप्रेतीले चलचित्रका निर्देशकले चलचित्र मात्र नभएर समग्र देशको राजनीतिलाई नै निर्देशन गर्ने खुबी राख्ने बताउँदै सबैले साथ दिएमा अन्ततः लोकतन्त्रकै जीत हुने दाबी गरे।
chunab-filmperson
नायक राजेश हमालले सक्षम उम्मेदवारलाई मात्र भोट दिन आग्रह गरे। देशको अग्रगामी भबिष्यको लागि मतदान गर्नैपर्ने बताउँदै हमालले सबै दलहरु पहिलो परिक्षामा फेल भएर पुनः परिक्षा दिन लागेकोले खुशी मनले निर्वाचन र संविधानको तयारी नगरेको टिप्पणी गरे।

चलचित्र पत्रकार संघका अध्यक्ष बिदुर गिरीले पत्रकारले निर्वाचन बाहेक अन्य कुनै पनि राजनीतिक क्रियाकलापमा सहभागि हुन नहुने जिकिर गरे। कार्यक्रममा बोल्ने सबैले लोकतन्त्र अपरिहार्य रहेकोले निष्पक्ष निर्वाचन र सहि व्यक्तिको छनौटमा जोड दिएका थिए। चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राइले कलाकारहरु राजनीतिमा आएर सदनमा पुगे मात्रै चलचित्रको भबिष्य राम्रो रहेको बताए। राईले कलाकार राजनीतिमा आउनै हुन्न भन्ने धारणा परिवर्तन गर्नुपर्ने बताए।

यस्तै नायिका निशा अधिकारीले कसैको लालचमा नलागी निर्भिक भोट हाल्न आग्रह गरिन् । नायिका करिश्मा मानन्धरले सम्पूर्ण महिलाहरुलाई भोट हाल्न अपिल गरिन् ।संगीतकार शम्भूजित बास्कोटा साथै हाँस्य कलाकार दिपकराज गिरीले आफूले निर्धक्क भोट हाल्दै आएको र यसपाली पनि निर्वाचनमा सहभागि हुने बताए।  चलचित्र निर्देशकद्वय लक्ष्मीनाथ शर्मा र उज्ज्वल घिमिरे साथै कलाकार बसुन्धरा भुषाल लगाएतले पनि निष्पक्ष मतदानको अपिल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu