नेपाली टेलिसिरियलबाट कला यात्रा सुरु गरेका चर्चित हाँस्यकलाकार केदार घिमिरे अर्थात ‘माग्ने बुढा’ आजबाट ४३ बर्षमा लागेका छन् । गएको बर्ष चलचित्र ‘छक्का पन्जा’ को सेटमा ४२ औं जन्मदिनको केक काटेका केदार घिमिरेले यस बर्षको जन्मदिन भने परिवारसँग मनाउँदैछन् ।
उनी हेटौँडाका स्थानीय बासिन्दा हुन् । उनले हाँस्यटेलिसिरियल ‘मेरी बाँस्सै’ मा ‘माग्ने बुढा’ को भूमिका निर्वाह गरेपछि रातारात लोकप्रिय भए । २०५० सालमा एसएलसी परीक्षा पास गरेपछि कानुन विषय पढ्ने सपनाको भारी बोकेर काठमाडौं छिरेका घिमिरेले काठमाडौंमा आएपछि फुटपाथमा कपडा पसल थाप्नेदेखि खाने मसला बिक्री गर्दै हिँड्ने कामसमेत गरे ।

केदारले सुरुमा ‘हिजो आजका कुरा’मा काम गरेका थिए । त्यसपछि ‘गीताञ्जली’, ‘तीतो सत्य’, ‘लोकलहरी’, ‘जिरे खुर्सानी’ हुँदै ‘मेरी बाँस्सै’मा काम गरेका हुन् ।
उनले काम गरेको सबैभन्दा चर्चित क्यारेक्टर ‘मेरी बास्सै’को ‘माग्ने बुढा’ले सबैमाझ चिनायो । त्यसपछि उनले आफ्नो करियरलाई कहिले पनि पछाडि फर्केर हेर्नु परेन । केदारले ‘वडा नम्बर ६’,‘छक्का पन्जा’ र ‘६ एकान ६’ मा मुख्य भूमिका निर्वाहा गरेका छन् ।
केदारलाई ४३ औं जन्मदिनको अवसर पारेर अहिले उनलाई समकक्षी साथीहरुदेखी प्रशंसकहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् ।

‘मेरी बाँस्सै’ मा एकसाथ काम गरेका सिताराम कट्टेल ‘धुर्मुस’ ले पनि आफ्नो फेसबुकमा एक फोटोसहित स्टाटस लेख्दै घिमिरेलाई जन्मदिनको शुभकामना दिएका छन् भने दीपाश्री निरौला, विल्सन विक्रम राई लगायतका कलाकारहरुले पनि फेसबुकमा फोटो र स्टाटससहित जन्मदिनको शुभकामना दिएका छन् ।


