काठमाण्डौ। गएको बर्षको भदौमा रिलिज भएको सुपरहिट चलचित्र ‘छक्का पन्जा’ को सिक्वेलको बिहिबारबाट छायांकन सुरु भएको छ । भक्तपूरको सूर्यविनायक मन्दिरमा निर्देशक, निर्माता, कलाकारहरुले क्यामेरा पुजा गरेपछि औपचारिक रुपमा चलचित्रको छायांकन सुरु भएको हो ।
हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले संयूक्त रुपमा क्ल्याप ठोके भने किरण केसीले नरिवल फुटाएर चलचित्रको शुभसाइत गरेका थिए । शुभसाइत कार्यक्रममा चलचित्रकी निर्देशक दीपाश्री निरौला, निर्माता तथा कलाकार दीपकराज गिरी, कलाकारहरु केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, किरण केसी र ‘छक्का पन्जा २’ मा लिड रोलमा रहेका स्वस्तिमा खड्का र स्वरूपपुरुष ढकाल पनि उपस्थित थिए । चलचित्रका अन्य लिड कलाकार प्रियंका कार्की, बर्षा राउत भने उपस्थित थिएनन् ।

‘नाई नभन्नू ल’ सिरिज निर्माण गरेर सफल निर्देशकको रुपमा आफुलाई उभ्याएका विकासराज आचार्य यो चलचित्रका कार्यकारी निर्माता हुन् । चलचित्रमा उनकै कथा छ । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, वुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत लगायतका कलाकारहरुको लिड रोल रहनेछ । यो चलचित्रमा निर्देशक निश्चल बस्नेतको पनि अभिनय रहनेछ । उनको भूमिकाको बारेमा भने निर्माण पक्षले खुलाउन चाहेन ।
चलचित्रको पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । दीपक-दीपाको प्रस्तुतीमा तयार हुन लागेको यो चलचित्रमा जीतु नेपाल, माग्ने बुढो डट कम, ताराचन्द्र चापागाँई, सुमन गिरीको लगानी रहनेछ ।


