काठमाण्डौ। यो शुक्रवारबाट दुई नेपाली चलचित्र रिलीज भएका छन् । आपराधिक क्रियाकलापमाथि आधारित ‘रातो घर’ र वन सटमा खिचिएको सस्पेन्स थ्रिल चलचित्र ‘जालो’ एकसाथ प्रदर्शनमा आएका हुन् ।
गत बुधवार राजधानीमा प्रिमियर शो देखाईएको ‘रातो घर’लाई प्रिमियर हेर्ने चलचित्रकर्मीहरुले रुचाएका छन् । ‘कालो काम गर्नेको सेतो कथा’ भन्ने नारा बोकेको चलचित्रमा विल्सन विक्रम राई, संयम पुरी, गौरव पहारी, मेनुका प्रधान, बिकेश श्रेष्ठ, अनुराग कुँवर, माला लिम्बु लगायतका कलाकारहरुको अभिनय छ । फिल्मलाई सुरज सुब्बा ‘नाल्बो’ ले निर्देशन गरेका हुन् ।
मान हिम फिल्मस् र तक्मे प्रोडक्शनको ब्यानरमा बनेको ‘रातो घर’ का प्रस्तुतकर्ता निकेश लिम्बु हुन् भने विल्सन विक्रम राई निर्माता हुन् । महेश खड्काको शब्द तथा संगीत रहेको ‘रातो घर’ मा हरि घले लामाको सिनेमाटोग्राफी रहेको छ ।
संसारकै लामो वट सटमा खिचिएको चलचित्रको विश्व कीर्तिमान राख्ने दौडमा रहेको ‘जालो’लाई अराज केशव गिरीले निर्देशन गरेका छन् । वन सट भनेको सुटिङ सुरु हुँदा अन भएको क्यामेरा सुटिङ सकिएपछि मात्र अफ हुन्छ र कुनै पनि दृश्य नकाटी चलचित्रमा देखाउनु पर्ने हुन्छ । ४ घण्टामा एकसाथ दुई चलचित्रहरु ‘जालो’ र ‘जालो रिटर्न्स’ छायांकन भएको थियो । दुई मध्ये पहिलो सिरिज ‘जालो’ रिलीज भएको हो ।
अराजकेशव गिरीको कथा, पटकथा र निर्देशनमा तयार फिल्म ‘जालो’ मा अनुपविक्रम शाही, मेनुका प्रधान, रेमनदास श्रेष्ठ, निराजन प्रधान, मुना गौचन, नीर शाह, लक्ष्मी गिरी, भीष्म जोशी, प्रकाश श्रेष्ठ, मुक्तराम आचार्य, लक्ष्मी बर्देवालगायतले अभिनय गरेका छन् ।