काठमाण्डौ। यही शुक्रवारबाट देशव्यापी प्रदर्शनामा आउन लागेको प्रियंका कार्की र दयाहाङ् राई स्टारर चलचित्र ‘लाल्टिन’ ले अहिले आफ्नो प्रचार प्रसारलाई आक्रामक बनाइरहेको छ ।
वृद्ध-असाहयहरुलाई पोशाक वितरणदेखि वातावरण र स्वच्छ वातावरणका लागि साइकल र्यालीसम्म गरिसकेको ‘लाल्टिन’ टिमले दर्शकमाझ पुग्ने अर्को प्रचार शैली पनि अपनाएको छ, ‘रोड कन्सर्ट’ । ‘लाल्टिन’ निर्माणपक्षले काठमाण्डौ, भक्तपुर र ललितपुरमा ‘रोड कन्सर्ट’ गर्दै प्रचार-प्रसारलाई थप व्यापक बनाएको छ ।
विभिन्न ८ ठाउँमा गरिएको रोड कन्सर्टमा गायक विनोद ढकाल, कलाकारहरु निर्जन थापा, राज कटुवालका साथमा विश्व क्रितिमानी दिनेश पारकर र अस्मिता जुरेली सहभागी थिए । कन्सर्ट गरिएको ८ वटै स्थानमा दर्शकको उपस्थिती उत्साहजनक रहेको निर्माता भानु प्रतापले जानकारी दिए ।
फिल्ममा दया र प्रियंका कार्कीका अलावा निर्जन थापा, राज कटुवाल, अर्जुनजंग शाही, जनक बर्तौला, ए.गुरुङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । फिल्मलाई भानु प्रताप, अनिम श्रेष्ठ र राज केसीले संयुक्त रुपमा निर्माण गरेका हुन् । देव कुमार श्रेष्ठको निर्देशनमा फिल्म ‘लाल्टिन’ तयार भएको हो ।