कान्तिपुरबाटः कमेडियनले भरिएको फिल्म



6-ekan-6काठमाण्डौ। हाँस्न सबैलाई मन लाग्छ । त्यसैले त हास्यव्यंग्य सम्बन्धी सिरियलहरू टेलिभिजनमा छ्यासछ्यास्ती छन् । ‘तीतो सत्य’, ‘जिरे खुर्सानी’ र ‘मेरी बास्सै’ तिनैमध्येका चर्चित कमेडी सिरियल हुन् । एकअर्काका प्रतिस्पर्धी सिरियलका कमेडियन गाईजात्राको बेला वर्षेनि एउटै मञ्चबाट दर्शकलाई हँसाउने गर्छन् । दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौडेल, जितु नेपाल, सीताराम कट्टेल ‘धुर्मुस’, केदार घिमिरे ‘माग्नेबूढा’ जस्ता चर्चित कमेडियनलाई एकसाथ हेर्न अब गाईजात्रा नै कुर्नुपर्नेछैन ।

पुस २६ देखि देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘छ एकान छ’ ले यी सबैलाई एकै ठाउँ ल्याइदिएको छ । ‘सुरुमा मलाई फिल्म खेल्ने प्रस्ताव, अझ त्यसमा पनि हिरोको रोल भन्दा पत्यार नै लागेन,’ उमेरले ४७ छोइसकेको बेला पहिलो पटक फिल्मी हिरोको प्रस्ताव आएको प्रसंग कोट्टयाउँदै शिवहरि पौडेलले हाँसो गरे, ‘तर अहिले हेर्दा त मै पो सबैभन्दा योङ देखिएको रहेछु ।’

कमेडियन नै प्रमुख भूमिकामा राखेर नेपालमा कमेडी फिल्म बनेको सम्भवतः पहिलो हो । निर्मातात्रय दीपक, दीपा र निर्मल शर्माले पनि फिल्म पूर्णतः मनोरञ्जनात्मक रहेको दाबी गरेका छन्, जसको निर्देशन दिनेश डिसीले गरेका हुन् ।

‘फिल्म बनाएर नाम र दाम कमाउनु मेरो दोस्रो स्वार्थ हो । पहिलो स्वार्थ भनेको कमेडी ट्रेन्डलाई फिल्ममा पनि स्थापित गराउनु हो,’ फिल्मबारे जानकारी दिन सोमबार आयोजित कार्यक्रममा बोल्दै दीपकराजले भने, ‘अहिले फिल्ममा पैसा हालेर कमाउने अवस्था पनि छैन । फेरि, एउटा कलाकारले फिल्म नबनाएर जुत्ता बनाउने कुरा पनि भएन । कमेडी सबैको पि्रय विषय भएकोले धेरै विचार गरेर बनाएको हुँ । यसमा मेरो करिअरको २२ वर्षको कमाइ लगानी गरेको छु ।’

त्यसो त उनलाई यसअघि कमेडियन नै खेलेका फिल्म होस् वा कमेडी फिल्म, सफल नभएका उदाहरण पनि थाहा छ । ‘घरमै टेलिभिजनमार्फत प|mीमा हेरिरहेका कमेडियनलाई हलमा हेर्न आउलान् त भन्ने मैले पनि सोचेकै हो । अघिल्ला फिल्मको रिपोर्ट राम्रो

छैन । तर पनि यो फिल्मले यतिका कमेडियनलाई एउटै क्यानभासमा हेर्ने वातावरण मिलाएकोले दर्शकले हेर्न मन गर्लान् भन्ने ठानेको छु । हेरौं, नमरी स्वर्ग देखिन्नँ । फिल्ममा लाउड कमेडी छैन । तर फिल्ममा हुनुपर्ने फाइट, गीत पनि छ ।’

यसअघि दीपकराज स्वयं लिड रोलमा रहेको ‘सुन्दर मेरो नाम’ सोचे अनुरूप चल्न सकेको थिएन भने मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई लिएर बनाइएको ‘हाँसिदेऊ एकफेर’ फ्लपै भएको थियो । ‘छ एकान छ’ मा भने दीपकले एक्लै नायक बन्न हच्किएको स्वीकार गर्दै भने, ‘म एक्लैले फिल्म धान्न सक्दिनँ । एकतामा बल हुन्छ । पाँच वटा धागोलाई एक ठाउँमा मिलायौं भने त्यो डोरी हुन्छ । हामीसँग उच्च प्रतिस्पर्धा छ । तर फिल्मका लागि सबैलाई एकसूत्रमा बाँध्ने काम गरेकै हो ।’

जगदीश्वर थापाको पटकथा रहेको फिल्ममा नीता ढुंगाना, सन्दीप क्षेत्री, अर्जुन श्रेष्ठ लगायतको पनि अभिनय छ ।

कुनै बेला नेपाल टेलिभिजनमा कमेडी सिरियल ‘ट्वाक्कटुक्क’ निर्देशन गरेर चर्चा कमाएका दिनेश डिसीले आफ्नो दक्षता कमेडीमै भएकाले पनि ‘छ एकान छ’ कमेडी धारमै तयार पारेको बताए । ‘संवाद र परिस्थिति अनुरूप हँसाउने फिल्म हो यो,’ उनले फिल्मबारे भने, ‘टेक्निकल्ली भयंकर छ भनेर यो फिल्मलाई भन्दिनँ । यसमा त्यो देखाउन सम्भव पनि थिएन । बिहान जगिङमा जाँदा सुट लगाउने कुरा भएन, तर दर्शकहरूले पाउने खुराकका हिसाबले उत्कृष्ट छ ।’

फिल्म अर्बपति हजुरबुवाकी नातिनीको बिहेको प्रसंगबाट अघि बढ्छ । त्यसमा छ पात्रको चासो हुन्छ । नातिनीको भूमिकामा रहेकी नीताका लागि फिल्म बढी महत्त्वपूर्ण रहेको निर्देशकले दाबी गरे । ‘फिल्मका एक सय सिनमध्ये नीता ९५ सिनमा देखिएकी छन् । यसअघिका फिल्ममा पनि उहाँको अभिनयलाई रुचाइएकोले यसबाट कलाकारका रूपमा सबैभन्दा फाइदा नीतालाई नै पुग्ने म देख्छु । उहाँमा क्ष्ामताको ज्वालामुखी नै छ भन्छु म ।’

पहिलोपटक कमेडी फिल्म गरे पनि नीताको एक्टिङ भने कमेडी छैन । उनले आफू यसमा बोल्ड देखिएको टिप्पणी गरिन् । ‘९५ सिन भनेको त होल फिल्म हो, यसरी काम गर्ने मौका यसअघि पाएकी थिइनँ । ठाउँ-ठाउँमा काम देखाउने मौका पनि पाएकी छु ।’ फिल्ममा आफ्नो पात्रलाई फूलसँग तुलना गर्दै नीताले त्यसमा छ जना भमरा झुम्मिएको खुलाइन् ।
(कान्तिपुर दैनिकबाट उस्तै)

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu