गुरुङ फिल्म ‘मैंरिमो’ पोखरामा रिलीज हुने



वैदेशिक रोजगारका लागि युवा विदेशिनु र गाउँका महिला बालबच्चाको शिक्षादिक्षाको लागि शहर पस्ने क्रम बढ्दै गएपछि अहिले नेपालका ग्रामीण बस्तीहरु पातलिँदै गएका छन् । जसले गर्दा गाउँको सामुदायिक विद्यालयमा समेत विद्यार्थी घटदै गएका छन् ।

यस्तै विषयमा निर्माण गरिएको गुरुङ फिल्म ‘मैंरिमो’ आगामी कार्तिक २४ गतेबाट पोखरास्थित बाराही चलचित्र मन्दिरमा नियमित प्रदर्शन हुने भएको छ । फिल्मले आफ्नो गाउँको सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउन प्रमुख पात्रले गरेको प्रयासलाई विषयबस्तु बनाइएको छ । अंग्रेजी भाषामा ‘मैंरिमो’लाई ‘मिस यू’ भनिन्छ ।

फिल्मको छायांकन लमजुङको साविक मालिङ गाविसको सैलुङ गाउँमा भएको हो । फिल्ममा ‘एउटा पञ्चेबाजा’ समेत गरी ४ वटा गीत समावेश गरेको छ । जसमध्ये गीतकार आश गुरुङद्वारा रचित ‘ए ङोल्स्यो, ए ङोल्स्यो’ बोलको शीर्ष गीत गुरुङ समुदायमा लोकप्रिय बन्दै गएको छ ।

फिल्मका निर्देशक भोजबहादुर गुरुङले गुरुङ फिल्म निर्माण हुन लागेको दुई दशक भन्दा बढि समय भइसके पनि हालसम्म भीआइपी शो र च्यारिटी शोबाहेक नियमित शो निकै कम भइरहेको बताए । ‘त्यसकारण गुरुङ फिल्मको प्रोत्साहन गर्नकै लागि ‘मैंरिमो’लाई हामीले नियमित रुपमा बाराही चलचित्र मन्दिरमा प्रदर्शन गराउन लागेका हौं’, उनले भने ।

मुनाल फिल्म प्रा.लि. पोखराको ब्यानरमा निर्मित फिल्ममा गमन घले, प्रेम गुरुङ, सपना गुरुङ, सेसुवा गुरुङ, गजेन्द्र गुरुङ, कूलबहादुर गुरुङ, ईन्द्रसुवा गुरुङ, अमीर गुरुङ, कमल गुरुङ, बालकाशी गुरुङलगायतको अभिनय छ ।

प्रेम गुरुङ र सपना गुरुङ निर्माता रहेको फिल्ममा बालकाशी गुरुङ कार्यकारी निर्माता छन् । फिल्ममा तेजेन्द्र गुरुङको संगीत, गोविन गुरुङ, मनोज गुरुङ, तारा श्रीषमगर, पवित्र गुरुङ, सरुन गुरुङको स्वर, नेत्रबहादुर गुरुङको नृत्य, केयरसिंह गुरुङ-गुरुङ कवि’को कथा, रोशन गुरुङको पटकथा/संवाद र खिमबहादुर गुरुङको छायांकन तथा सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu