काठमाण्डौ। यस बर्षकै सर्वाधिक प्रतिक्षित चलचित्र ‘कृ’को अर्को पोष्टर सार्वजनिक भएको छ । यसअघि एक्शन पोस्टर सार्वजनिक गरेको निर्माण टीमले यसपटक रोमान्टिक पोष्टर सार्वजनिक गरेको हो ।
यस पोस्टरमा नायिका अदिती बुढाथोकीलाई पनि समावेश गरिएको छ । यसअगाडि नायक अनमोल केसीको मात्र तस्बिर समावेश गरिएको पोष्टर सार्वजनिक गरिएको थियो । शुक्रबार दिउँसो ३ बजे एक भव्य कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ ।
सुवास इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो । चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ ।
सुवास गिरी र भूवन केसी निर्माता रहेको चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता कमल गिरी हुन् भने सह-निर्माता श्री पराजुली रहेका छन् ।
माघ २६ गतेबाट नेपालभर यो चलचित्र रिलिज हुनेछ । अघिल्ला ४ वटा चलचित्रमा रोमान्टिक नायकको रुपमा देखिएका अनमोल यो चलचित्रमा रोमान्टिकसँगै एङ्ग्री अवतारमा पनि देखिएका छन् । टौवा क्रियशनले यो पोष्टर तयार पारेको हो ।