‘राज्जा रानी’सँग लालबाबुले मर्काए कम्मर



एमाले चर्चित नेता लालबाबु पण्डितले पुष २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘राज्जा रानी’को प्रमोशनमा साथ दिएका छन् । उनलाई ‘राज्जा रानी’ले बिराटनगर १२ स्थित स्थानीय बखरी बगैंचामा आयोजित पब्लिसिटी कार्यक्रममा समेत मुख्य अतिथि बनाएको थियो । आफू मन्त्री बने चलचित्रको लगानी उठाइदिने समेत पण्डितले बचन दिए ।

पण्डितलाई देखेपछि केकीले हजारको नोटमा लालबाबुको अटोग्राफ समेत लिइन् । नायिकाले आफूबाट अटोग्राफ लिएपछि लालबाबुले पनि केकीको सौन्दर्य प्रशंसा गर्न भ्याए । लगत्तै चलचित्रको गीतमा उनले केकी र नाजिरसँग कम्मर मर्काए । यस्तै, उनले चलचित्रले उठाएको तराईमा व्याप्त दहेज परम्पराबारे पनि आफ्नो विचार राखे ।

अब बन्ने वाम सरकारले दाइजो प्रथालाई निरुत्साहित गर्न बेहुली पक्षको परिवारलाई १० हजार रुपैयाँ दिने योजना ल्याउने नेता पण्डितले बताए । बिराटनगरदेखि सुरु भएको ‘राज्जा रानी’को मोफसल दौडाहा बुधबार जनकपुरमा हुँदैछ । केकीसहित अभिनेता नाजिर हुसेन र भोर कम्पनीका प्रतिनिधि टोलीमा छन् । यो चलचित्रसँग मिलेर भोरले तराई र पूर्वी मधेशका जिल्लामा दाइजो र बालविवाह विरुद्ध जागरण अभियान चलाएको छ ।

यो चलचित्रलाई ‘कोहिनुर’, ‘वीर विक्रम’, ‘शब्द’, ‘के म तिम्रो होइन र’ र ‘रानी’को कथा लेखिसकेका यम थापाले निर्देशन गरेका हुन् । आर्यन फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित यो चलचित्रका कार्यकारी निर्माता रमेश एमके पौडेल हुन् ।

चलचित्रमा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्यको समेत अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu