झगडालु नेताहरु एकैठाउँ बसेर रोए | चिताबाटै भागेकी श्रीमतीको कथा



ठुलोपर्दा डटकम, काठमाण्डौ। भर्खर संविधानसभाको निर्वाचन र परिणामबाट चर्चा-चर्की गर्दै हिँडिरहेका नेताहरु बिहिवार भने एकै ठाउँमा बसेर आँशु बगाएका छन्। साहित्यकार कृष्ण धरावासीको चर्चित कथा संग्रह ‘झोला’ मा रहेको शिर्ष कथामा बनेको नेपाली चलचित्र ‘झोला’ हेर्न पुगेका दर्जन नेताहरु बिहिवार बिहानै भक्कानिएका छन्।

बमको त्राससँगैको अपरिचितको झोलाबाट सुरु भएर सती प्रथाको अन्त्य गर्ने राणा शासनकालका पाँचौ प्रधानमन्त्री चन्द्र शमसेरको असल कार्यको चर्चासहित टुंगिने ‘झोला’ले राजधानीको कुमारी हलमा उपस्थित बिभिन्न राजनीतिक दलका बिशिष्ट नेताहरुलाई एकाएक रुवाईदियो। आफुले हेरेमध्ये सबैभन्दा राम्रो र मर्मस्पर्शी यथार्थ चलचित्र भएको बताउँदै उनिहरु आफ्नो नियमित राजनैतिक काममा फर्किएका थिए।
jhola-1
‘झोला’ हेर्नको लागि डा.बाबुराम भट्टराई, हिसिला यमी, झलनाथ खनाल, केपी ओली, कृष्ण सिटौला, इश्वर पोखरेल, नरहरी आचार्य, महेश आचार्य, प्रदिप ज्ञवाली, सीपी मैनाली, लोकेन्द्र बहादुर चन्द लगाएतका बरिष्ठ नेताहरु साथै बरिष्ठ पत्रकार, साहित्यकार तथा समाजसेवीहरुको उपस्थिती थियो।

बुढेसकालमा आफुभन्दा चालिस बर्ष कान्छी श्रीमती बिवाह गरेर बच्चा जन्माएका वृद्दको देहान्तसँगै श्रीमतीले सति जानुपर्ने कथामा ‘झोला’ बनेको छ। वृद्दले जीवनको अन्तिम समयमा श्रीमतीलाई सति नजानु भनेता पनि सामाजिक परम्पराका कारण चितामा बस्नुपरेको दृश्य कारुणिक लाग्छ। आगोले पोलेपछि खोलामा हाम्फालेर भागेकी आमालाई घना जंगलको गुफामा देखेपछि उक्त ठाउँ छोडेर भाग्ने निर्णय गरी काका-काकीको सहारामा परदेशिएको बालक र उसकी आमाको दृश्य अगाडी पर्दा जस्तोसुकै कठोर हृदय पनि नौनी बन्छ।

पाठ्यकथामा समेत मानिसलाई रुन बाध्य तुल्याउने ‘झोला’मा लेखक धरावासीको पनि बिशेष भूमिका रहेको छ। गरिमा पन्त, देशभक्त खनाल, लक्ष्मी गिरी, दीपक क्षेत्री, सुजल नेपाल (बाल-कलाकार), प्रह्लाद खतिवडा, रामगोपाल थापा लगाएतका कलाकारहरुको अभिनय रहेको ‘झोला’लाई यादव भट्टराईले निर्देशन गरेका छन्। नायक राज तिमिल्सिनाले यो चलचित्रमा लगानी गरेका छन्। उनको साथमा रामगोपाल थापा र सुशुल शाहले पनि लगानी गरेका छन्। ‘म कलाकार हुँदाहुँदै पनि लगानी मात्र गरेको छु। निर्माता मात्र रहँदा झनै खुशी छु’ निर्माता तिमिल्सिना भन्छन्, ‘निर्देशक भट्टराई र मैले छ बर्ष अध्ययन गरेर यो चलचित्र तयार पारेका थियौँ, आज सबैको तारिफ पाउँदा एकदमै खुशी छु’।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu