दाईजो प्रथाको कथा बोल्ने चलचित्र ‘राज्जा रानी’को बुधवार राजधानीको क्यूज सिनेमा हलमा प्रिमियर गरिएको छ । दुईसय भन्दा बढी चलचित्रकर्मी, पत्रकारसँगै विभिन्न संघ सस्थाका व्यक्तिहरु उपस्थित प्रिमियरमा चलचित्रका मुख्य कलाकार केकी अधिकारी, नाजिर हुसेन, दीपक क्षेत्री लगायतको उपस्थिति थियो ।
प्रिमियरमा चलचित्र ‘राज्जा रानी’ले उत्कृष्ट प्रतिक्रिया पाएको छ । प्रिमियरमा सहभागी अधिकांशले चलचित्रको कथावस्तु तथा कलाकारको प्रस्तुती विशेष लागेको बताए । नाजिर र केकीको अभिनयले प्रिमियरमा गज्जबको तारिफ पाएको थियो । फिल्म हेर्न एमाले नेता लालबाबु पण्डित परिवारसहित क्यूज सिनेमा पुगेका थिए ।
‘राज्जा रानी’लाई ‘कोहिनुर’, ‘वीर विक्रम’, ‘शब्द’, ‘के म तिम्रो होइन र’ र ‘रानी’को कथा लेखिसकेका यम थापाले निर्देशन गरेका हुन् । उनको यो डेब्यू निर्देशन हो । चलचित्रले पश्चिम तराईस्थित सानो जनजाति समुदायको संवेदना र प्रेमकथा चित्रण गर्छ ।
चलचित्रमा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्यको समेत अभिनय छ । ‘राज्जा रानी’मा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, एवं विक्रम स्वारको नृत्य निर्देशन रहेको छ ।
आर्यन फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित ‘राज्जा रानी’का कार्यकारी निर्माता रमेश एमके पौडेल हुन् । ‘राज्जा रानी’मा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।