‘सिमसिमे पानीमा’ गीत लेखन, संगीत र गाएर नेपाली सांगीतिक क्षेत्रमा आफ्नो परिचय बनाएकी गायिका रेखा शाहले राजधानीमा एकल गायन कार्यक्रम सम्पन्न गरेकी छिन् ।
२०४९ सालमा रेडियो नेपालले आयोजना गरेको देशव्यापि लोकगीत गायन प्रतियोगीतामा प्रथम स्थान प्राप्त गरेको उनको पहिलो गीत ‘सिमसिमे पानीमा’ गाएको २५ वर्ष पुगेको अवसरमा उनले एकल गायनसँगै सिल्भर जुब्ली वर्ष मनाएकी हुन् ।
राजधानीको याक एण्ड यति होटलमा रेखा शाह फाउन्डेसनद्वारा आयोजित समारोहलाई महिला बालबालिका तथा समाज कल्याण मन्त्री माननीय थममाया थापाले उद्घाटन गरेकी थिइन् ।

गीतगायनमार्फत् राज्यलाई सेवा गरिरहेकी रेखाका गीतको आफू पनि फ्यान भएको मन्त्री थापाले बताइन् । अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ पारी आयोजना गरिएको सो समारोहमा मन्त्री थापाले आयोजक संस्था रेखा शाह फाउन्डेसनको तर्फबाट समाजसेवामा सक्रिय शक्ति समूह नेपालकी संस्थापक सदस्य चरिमाया तामाङ र बरिष्ठ गायिका तारा थापालाई ताम्रपत्रसहित जनही रु. ११,१११ ले सम्मान समेत गरिन् ।
आफ्नो जन्मको सार्थकता झल्काउन आफ्नै नाममा रेखा शाह फाउन्डेसन नामक सामाजिक संस्था स्थापना गरी समाजसेवामा सक्रिय रहेको गायिका शाहले सो समारोहमा बताइन् । राजधानीका सामुदायिक र निजी विद्यालयमा अध्ययनरत विपन्न वर्गका करीब १ दर्जन बालबालिकाको माध्यमिक तहसम्मको शिक्षामा सो संस्थामार्फत् गायिका शाहले आर्थिक सहयोग गर्दै आइरहेको बताइन् ।
एकल गायन कार्यक्रममा सिमसिमे पानीमाका अलवा एक दिन तिमी फर्कि आउनेछौ, तिमीलाई केही, सइँको घर काँ हो काँ लगायतका आफ्ना गीत र नारायणगोपाल, तारादेवी, अरुणा लामा, डेजी बराइली, प्रेमध्वज प्रधान, उषा मंगेशकर, ज्ञानु राणाजस्ता अग्रज कलाकारका गीतहरु प्रस्तुत गरेकी थिइन् ।
गोपाल योञ्जनको शब्द, संगीत र नारायणगोपालको स्वरमा रहेको ‘तिम्रोजस्तो मुटु मेरो पनि’ रेखाले गाउँदा उपस्थित दर्शकले उनको गायकीको खुलेर तारिफ गरेका थिए । सुरज कुमार थापासँग युगल गायनमा उनले रातो र चन्द्र सूर्य, मान्छेको माया यहाँ, हेर न हेर कान्छा र नमान लाज यस्तरी गाइन् ।

द लिजेन्ड व्याण्डले वाद्यवादनमा साथ दिएको सो कार्यक्रममा रातो र चन्द्र सूर्यबाट गायकीको सुरुवात गरेकी उनले दुई लोकगीत ‘सइँको घर काँ हो काँ’ र ‘सिमसिमे पानीमा’ गाएर कार्यक्रमको विट मारेकी थिइन् । आफ्नो गायकीको २५ वर्ष पुगेको सन्दर्भसँगै आफू जेन्डर स्टडीजकी स्नातकोत्तर विद्यार्थी भएकाले लैंगीक समता र समानताका लागि नारी दिवसको दिन कार्यक्रमको आयोजना गरेको उनले बताइन् ।
वरिष्ठ गीतकार किरण खरेलको समुपस्थितिमा उनकै गीत ‘नमान लाज यस्तरी’ गाउँदा खरेल भावुक देखिएका थिए । गीत रेकर्ड भएको ५५ वर्षपछि सुन्दा झनै कर्ण प्रिय लागेको उनले बताए । कार्यक्रममा संगीतकार न्ह्यू बज्राचार्य, कवि गीतकार विप्लव प्रतीक र नायिका करिष्मा मानन्धरले गायिका शाहलाई शुभकामना मन्तव्यसहित गायकी जीवनको रजत वर्षको शुभकामना दिएका थिए ।






