राउटे दाईलाई किन किस गरेँ शब्दमा लेख्न सक्दिनः रेखा थापा



श्यामसुन्दर गिरी, काठमाण्डौ। नायिका रेखा थापाले आईतवार सुर्खेत को ५२ परिवार बसोवास गर्ने राऊटे जातीलाई ५२ बोरा चामल र केही नगद रुपैयाँ समेत सहयोग गरेकी छिन्। केही दिन अगाडि मात्रै चलचित्र ‘काली’को हङ्कङ प्रदर्शन गरेर काठमान्डौ आएकी रेखा विदेशको थकान नमेट्दै राउटेको सहयोगका लागि सुर्खेत हानिएकी थिईन्।

सुर्खेतको राउटे समुदायको एउटा तस्विर अहिले सर्वाधिक चर्चामा छ। रेखाले एकजना राउटेलाई चुम्बन गरेको तस्विर अहिले सामाजिक सञ्जालदेखी सञ्चारमाध्यममा छ्यासछ्यास्ती भएको छ।

rekha-raute-kiss
रेखाले आफ्नो उक्त अनुभव बारे आफ्नो फेसबुकमा यसरी लेखेकी छिन् (शुद्दाशुद्दी सम्पादन गरिएको छ):

“राउटेको आँगनमा पुगेँ, तब मेरो शरीरमा एक प्रकारको ऊत्साह पैदा भयो। फाउन्डेशनको सुरुवात अवस्थामा जुन मेरो सोचाई र बुझाई थियो, तर जब मैले प्रत्यक्ष देखेँ र बुझेँ मैले सुनेको भन्दा घेरै फरक पाएँ। म २१औँ शताब्दीको एउटा विकसित मानव र २१औँ शताब्दीकै र सुर्खेत शहरको छेउमै रहेर पनि अविकसित मानव जातिबीचको आकाश र धर्ती बिचको जस्तै लाग्ने त्यों अतुलनिय भिन्नता देख्दा मेरो मन भित्री ह्रदय देखीनै रोएर आयो। फाऊण्डेशन को सुरूवाती अवस्थामा राउटे जातीको उत्थानको लागी म केही योगदान गर्छु भन्ने मनमा चाहना मात्र थियो भने हिजोवाट यो मेरो सपना संकल्पमा परिणत भएको छ।

यो मेरो भाग्य मान्नुपर्छ जुनदिन म राउटे जातीको वस्तीमा छिरेकी थिएँ सोहीदिन संयोगले उहाँहरूको कुलपूजा गर्ने दिन रहेछ। पहिला त मेरो फाउन्डेशनका सदस्यलाई उक्त वस्तीमा प्रवेश गर्न वाट बञ्चित गरिएछ। म उक्त स्थानमा पुग्ना साथ म लगायतको टीमलाई दैवि शक्तिले बवरदान दिए झैँ लाग्ने गरी उहाँहरुको बस्तीमा सम्मान सहित छिर्ने अवसर मिल्यो। उहाँहरूको पुजा हेर्न लाई सालदेखी प्रतिक्षारत गाउँलेलाई पनि प्रवेश नदिई मलाई त्यो अवसर दिएकोमा स्थानियहरु पनि चकित भएको कुरा थाहा पाउँदा म छक्क परेँ। यो पल मेरो जीवनकै उपलब्धि भएको कुरा मैले महसुश गरेकी छु। अझ सुखद कुरा त के भने, हरेक वर्ष मनाईने ऊहाँहरुको कुल पुजा भएकै दिन मेरो फाउन्डेसनले प्रवेश पाउनु राम्रो हुने सुरुवातको संकेत हो भन्ने मैले ठानेकी छु।

राउटे समूह को दयनिय अवस्थाको समाधान बुझ्ने क्रममा अनायासै म मा के भावना उत्पन्न भएर आयो र मैले मेरो नजिक उभिरहनु भएका राउटे दाईलाई उहाँको गालामा माया र सम्मानको किस गरेँ र त्यो किन गरे म त्यो शब्द मा लेख्न सक्दिन, जो मानिससँग त्यो भावना बुझ्न सक्ने मन छ उसलाई मैले बुझाई रहनु पर्दैन जस्तो मलाई लाग्छ। अझै मलाई उहाहरुले राउटे समूह को छोरि र सदस्य बनाएर जुन माया र सम्मान दिएको मा म आफुलाई धेरैनै भाग्यवानी मानिस रहेछु भन्ने महसुश भएको छ। हिजो को दिनबाट मैले सुदुरपश्चिममा मेरो नयाँ परिवार पाएकी छु। मेरो बा, आमा, दाजु, भाइ, दिदि, बहिनिहरु र त्यो मेरो परिवार लाई अब कसरी राम्रो गर्ने भन्ने मेरो जीवनको अति नै महत्वपूर्ण जिम्मेवारी हो र त्यो म पूर्णरुपमा अन्तरआत्मा बाट पुरा गर्ने छु।

अन्त्यमा रोचक कुरा त के छ भने, एउटा राउटे दाईले त मलाई चिन्ने पो रहेछ भन्या !! उहाँले मेरो फिल्म सुर्खेतमा गएर हेर्नु भएको थियो रे तर फिल्म को नाम चाहीँ भुल्नु भएछ र पनि म त्यो पल धरै नै खुसि भए र म कलाकार भएको मा निकै गर्भ महसुश भएर आयो। मेरा लाखौ शुभचिन्तकहरु मध्ये त्यो राउटे दाई आज मेरो लागी करोडौ शुभचिन्तकहरु बराबर थिए। अन्तमा “झिम झिम सानु नझिम्काउ परेली भुतुक्कै हुन्छु म” बोलको गीत उहाँहरुले गाउनु भयो र हामी सबै परिवारसँगै नाचेर फेरि चाँडै भेट्ने र वाचा का साथ आएका छौँ।”

rekha-raute
वास्तवमा राज्यले त त्यती ध्यान दिन नसकिरहेको बेला यसरी जङ्गलमा कस्टकर जीवन बिताइरहेका सुर्खेत आसपासका राउटेहरुका लागि नायिका रेखा थापाले गरेको सहयोग अत्यन्त सकारात्मक छ। पहिलो पटक चलचित्रकर्मीको प्रतिनिधित्व गर्दै सहयोग वितरण गरेकाले राज्यलाई पनि झक्झकाउन यो कार्य सफल हुने देखिन्छ। अझ थापाले राउटे परिवारका ४ जना बच्चालाई काठमाडौमा लगेर उनीहरुको पालन पोषण, शिक्षा-दिक्षा दिने उद्घोष एउटा नमुना उदाहरण बनेको छ। सँधै पर्दामा मात्र देखिने नायिकाको सामाजिक क्षेत्रमा बढेको यो कदम सदैब निरन्तर रुपमा अगाडि बढ्दै जाओस्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu