तरकारीवालीले तान्लिन् दर्शक ?



तरकारीवालीको नामले संसारभर प्रख्यात कुशुम श्रेष्ठको अभिनय रहेको चलचित्र ‘लम्फू’ यही शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । करीब २ वर्ष अगाडि नाम्लोमा तरकारीको भारी बोकेर झोलुङ्गे पुल तर्दै गरेको तश्बिर सामाजिक भाइरल भएपछि कुशुम रातारात चर्चामा आएकी थिइन् ।

हाल चितवनमा बसेर अध्ययन गरिरहेकी उनले ‘लम्फू’ नै किन रोजिन् ? उनी भन्छिन्, ‘राम्रो भूमिका पाएँ । अनि नाईँ भन्न सकिनँ ।’ कुशुम ‘लम्फू’ बाट पाएको पारिश्रमिक समाजसेवामा खर्च गर्ने बताउँछिन् ।

के तपाईलाई हेर्न हलसम्म दर्शक जालान् ? ‘त्यो त थाहा छैन । मलाई चिन्नेहरु त पक्कै जानुहुनेछ । भूमिका राम्रो छ त्यसैले चलचित्र हेर्नुभएका दर्शक निराश बन्नुहुन्न’, उनले भनिन् । भविष्यमा लभस्टोरी चलचित्रमा काम गर्ने सोच बनाएकी उनी अभिनेता पुष्प खड्काको ठूलो फ्यान हुन् ।


‘लम्फू’ रिलिजपछि मात्र उनी नयाँ चलचित्रमा काम गर्ने वा नगर्ने भन्ने विषयमा विचार गर्ने बताउँछिन् । दर्शकको ध्यान तान्न यसको निर्माण पक्षले पनि तरकारीवालीको अभिनय रहेको चलचित्र भन्दै जोडतोडले प्रचार गरिरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘तरकारीवाली’ भनेपछि सजिलै चिन्ने हुँदा यस चलचित्र हेर्न दर्शकमा राम्रै हुटहुटी पैदा भएको छ ।

अब कुशुम भएका कारण चलचित्रलाई फाइदा होला वा नहोला त्यो भने हेर्न बाँकी छ । यस चलचित्रमा सलोन बस्नेत, कबिर खड्का, मरिश्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार ‘लम्फू’ एक युवाको जीवनमा आईपर्ने विभिन्न उतारचढावको कथा समेटिएको छ । समय र परिस्थितीले मानिसलाई कहिले सकारात्मक त कहिले नकारात्मक बनाउछ भन्ने देखाउन खोजिएको ‘लम्फू’ लाई पपुलर मल्टिमीडियाको लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu