‘छक्का पञ्जा ३’ को मुहर्त, दीपिकासँग दीपकको रोमान्स



यस वर्षको दशैंको फूलपातीबाट देशभर प्रदलर्शनमा आउन लागेको चलचित्र ‘छक्का पञ्जा ३’ को छायांकन सुरु भएको छ । शुक्रवार भक्तपूरको सूर्यविनायक मन्दिरमा मुहर्त गर्दै चलचित्रको सुटिङ सुरु भएको हो ।

तेस्रो पटक दीपाश्री निरौलाले निर्देशन गर्ने यो चलचित्रमा दीपकराज गिरी, दीपिका प्रसाईँ, जीतु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, नीर शाह, किरण केसीलगायतका कलाकारहरुको अभिनय रहनेछ ।

‘छक्का पञ्जा ३’ मा अभिनेता पुष्प खड्काको पनि ईन्ट्री भएको छ । उनको यस चलचित्रमा केमियो भूमिका रहने बताइएको छ । मुहर्त समारोहमा पुष्पले स्क्रिप्ट राम्रो लागेका कारण चलचित्रमा ज्वाइन भएको बताए ।

दीपक-दीपा क्याम्पकी भरपर्दी नायिका प्रियंका कार्कीको भने यसमा विशेष भूमिका रहने निर्देशक दीपाश्रीले जानकारी दिइन् । पटक-पटक प्रियंकासँग जोडी बाँधेका दीपकले उक्त चलचित्रमा भने दीपिकासँग रोमान्स गर्दैछन् ।

जीतु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको ‘छक्का पञ्जा’ को तेस्रो भागमा सुमन गिरी ‘भान्जा’, किरण केसी, शिवहरी पौडेल, पुरुषोत्तम प्रधान, तारा चन्द्र बजगाई, दीपेन्द्र खनियाँ र केशव न्यौपाने निर्माताको रुपमा रहेका छन् । यस चलचित्रको गीतमा अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहनेछ ।


मुहर्त समारोहमा बोल्दै दीपकराज गिरीले स्क्रिप्टको कामले गर्दा सुटिङ सुरु गर्न ढिलाई भएको बताए । उनले भने, ‘हामीप्रति दर्शकको धेरै अपेक्षा छ । यसकारण पनि हामीले धेरै मेहनत गर्नु पर्ने छ । हाम्रा हरेक नयाँ चलचित्र झैँ ‘छक्का पञ्जा ३’ ले पनि दर्शकलाई निराश हुन दिने छैन ।’

अभिनेत्री दीपिका प्रसाईँले ‘छक्का पञ्जा’ टिमसँग जोडिन पाउँदा आफूलाई भाग्यमानी ठानेको बताइन् । यस्तै, निर्देशक दीपाश्री सम्पूर्ण टिमको मिहिनेतले फिल्म उत्कृष्ट बन्ने हुँदा आफू मात्र केही नभएको बताउँछिन् ।

उनी भन्छिन्, ‘म केही पनि होइन । सम्पूर्ण टिमको साथ-सहयोग नभएसम्म चलचित्र राम्रो बन्दै बन्दैन । यसपटक पनि हामीले हाम्रोतर्फबाट गर्न सक्ने मेहनत गर्न कुनै कसर बाँकी राख्ने छैनौं ।’ यस चलचित्रमा वर्षा राउत र स्वस्तिमा खड्का भने दोहोरिएका छैनन् ।


कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी रहने चलचित्रमा रोशन श्रेष्ठको द्वन्द, पुरुषोत्तम प्रधानको छायांकन, दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, यमन श्रेष्ठको संवाद रहेको छ । ‘छक्का पञ्जा ३’ को कथा दीपकराज आफैंले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu