नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्ड हुँदै



काठमाडौं। ‘नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्ड’को तयारी थालिएको छ । गत वर्षदेखि यो वर्षको बैशाखसम्म सार्वजनिक भएका विभिन्न गीतहरुलाई छनोट गरी ‘बक्स अफिस म्यूजिक भिडियो अवार्ड’ प्रदान गर्न लागिएको आयोजक संस्था बक्स अफिस इन्टरनेशनल ग्रुपका अध्यक्ष रामबहादुर सुवेदी (आर.के.)ले बताए ।

यो अवधिमा युट्यूब तथा विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएका गीतहरुमध्येबाट उत्कृष्टहरुलाई छनौट गरी ३० विधामा अवार्ड प्रदान गरिने छ । अवार्डमा सहभागी हुनका लागि आयोजकले फारम खुल्ला गरिसकेको छ । अवार्डमा उत्कृष्ट श्रृंगार, उत्कृष्ट कला निर्देशन, उत्कृष्ट ड्रेस डिजाइनर, उत्कृष्ट कलर करेक्शन, उत्कृष्ट छायांकार, उत्कृष्ट म्यूजिक एरेन्जर, उत्कृष्ट युगल गायन, उत्कृष्ट सम्पादन, उत्कृष्ट समूह गायन, उत्कृष्ट पप गीत, उत्कृष्ट लोक दोहोरी गीत, उत्कृष्ट आधुनिक गीत, उत्कृष्ट भाषिक गीत, उत्कृष्ट राष्ट्रिय गीत, उत्कृष्ट महिला मोडल, उत्कृष्ट पुरुष मोडल, उत्कृष्ट नृत्य निर्देशक, उत्कृष्ट गीतकार, उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट संगीतकार, उत्कृष्ट भिडियो निर्देशक, उत्कृष्ट डिजिटल कारेबार, उत्कृष्ट स्टूडियो हाउस, उत्कृष्ट प्रचार–प्रसार सञ्चार माध्यम, उत्कृष्ट कोरस (कला केन्द्र), म्यूजिक भिडियो अफ दि इयर र लाइफ टाइम अचिभमेन्ट अवार्ड विधामा अवार्ड प्रदान गरिनेछ । त्यसैगरी आयोजकको तर्फबाट सर्वश्रेष्ठ चर्चित गीत, चर्चित गायक, चर्चित गायिका, संगीतकार, मोडललाई पनि सम्मानित गरिने आयोजकले जनाएको छ ।

अवार्डको लागि आयोजकले पाँच सदस्यी जुरी छनोट गरी केही दिनमा सार्वजनिक गर्ने बताएको छ । फारम भर्नका लागि फेसबुक, इन्टरनेट र आयोजकको संस्थामा सिधै सम्पर्क गर्न आग्रह गरेको छ । आवेदन दिएकामध्येबाट छनोट गरी जुरीले उत्कृष्ट पाँचको मनोनयनयन सार्वजनिक गर्नेछ भने अवार्डको फाइनल कार्यक्रम राजधानीको टुँडिखेल अथवा विदेशमा पनि हुनसक्ने गरी आयोजकले तयारी थालेको छ ।

बक्स अफिस इन्टरनेशनल ग्रुपले यसअघि पनि राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड, ब्लक बस्टर फिल्म अवार्ड, विश्व भ्रमण नागरिक सम्मान (अवार्ड), ग्लोबल मोसन पिक्चर्स अवार्ड सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यसमध्ये वार्षिक रुपमा आयोजना गरिने ब्लकबस्टर अवार्ड, ग्लोबल मोसन पिक्चर्स अवार्ड सम्पन्न भइसकेको छ भने नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड यो अवार्डको समापनसँगै भव्य नोमिनेशन समारोह आयोजना गरी सदाझैँ यसवर्ष पनि विदेशी भूमिमा आयोजना गरिने छ ।

हालै बक्स अफिस इन्टरनेशनल ग्रुपले नेपाली चलचित्रको इतिहासमा गत वर्ष २०७४ निकै सफल सावित भएको भन्दै आगामी दिनमा पनि अझ सफलताको कामना गरी पूवी नेपालका शक्तिपीठहरुमा धार्मिक यात्रा निकालेको थियो । काठमाडौंको गणेश मन्दिर लगायत भद्रकाली, पशुपतिनाथ लगायतमा पूजापाठ गरी यात्रा शुरु गरिएको धार्मिक यात्रा टोलीले पूर्वी नेपालका ताप्लेजुङको पाथिभरा, खोटाङको हलेसी, धरानको बुढासुब्बा, जनकपुरको जानकी मन्दिर लगायतका मठमन्दिरहरुमा सामुहिक पूजा गरी यात्रा सम्पन्न गरिएको थियो भने पश्चिम नेपालको धार्मिक यात्राको तयारी पनि थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu