गीतसंगीतलाई केहि पृथक देखाउने कोसिस सहित भाद्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सुश्री सम्पत्ति’ युनिटले यतिबेला छायांकन गरिरहेको छ ।
चलचित्रमा समावेश ’हुकुम’ बोलको गीतमा दरबारमा भारदारहरुसँगको नाच र रमाइलो प्रस्तुत गरिएको छ भने पोशाक पनि त्यहि अनुरुप तयार गरिएको छ । झन्डै ८० भन्दा बढी कोरस सहित यस गीतमा सलोन बस्नेत, सारा सिर्पाली र बिनोद न्यौपाने फिचर्ड छन् ।
गीतलाई गम्भीर बिस्टले निर्देशन गरिरहेका छन् । सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतमा बिशाल राई र मेलिना राइको स्वर रहेको छ । गीतलाई शिवराम श्रेष्ठले छायांकन गरिरहेका छन् । चलचित्रका छायाँकार भने अर्जुन तिवारी हुन् ।
रङ पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भईरहेको यस चलचित्रको गीतको पाटन दरबार लगायतको रमणीय दृश्यमा छायांकन भईरहेको छ । चलचित्रमा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ भने यसमा प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिनेछिन् ।
रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैंले लेखेका हुन् । ‘सुश्री सम्पत्ति’ को निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहने चलचित्रको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ ।