यस हप्ताको शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘चक्कर’ का निर्मातामाथि ‘पण्डित बाजेको लौरी’ का वितरकले हातपात गरेका छन् ।
गएको तीन दिन अगाडि काठमाडौंको दरवारमार्गमा रहेको होटल उडल्याण्डमा चलचित्र ‘पण्डित बाजेको लौरी’ को पत्रकार भेटघाट कार्यक्रम राखिएको थियो । कार्यक्रम सकिएपछि यसको टिमसँग भेट गर्न ‘चक्कर’ का निर्माता रविन आचार्य त्यहाँ पुगेका थिए ।
(निर्माता रविन आचार्य र वितरक गोविन्द शाही)
सोही बखत वितरक गोविन्द शाहीले आफूले वितरण गर्न लागेको चलचित्रसँग ‘चक्कर’ जुधाउन लागेको भन्दै निर्माता रविनमाथी हातपात गरेका छन् । नेपाल चलचित्र प्रविधिक संघले आफ्नो कार्यसमिति सदस्यमाथि हातपात भएकोमा गम्भिर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ती निकालेको छ ।
संघले शाहीमाथि कडाभन्दा कडा कारबाही गर्न पनि अनुरोध गरेको छ । संघका अध्यक्ष पुष्कर लामाद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘डाइङ क्यान्डल’ र ‘चक्कर’ जस्तो चलचित्र बनाएर चलचित्र उद्योग ध्वस्त पार्ने भनेर आचार्यमाथि हातपात गरेकोमा संघ गोविन्द शाहीको कार्यको घोर भत्र्सना गर्दछ ।’
(विज्ञप्ती)
तर, वितरक शाही आफूले रविनमाथि हातपात नगरेको बताउँछन् । उनी भन्छन्, ‘मैले हातपात गरेको छैन । उहाँले आफ्नो फिल्मको प्रचार प्रसार कमजोर भएका कारण फण्डा निकाल्नुभएको हो । हो, उहाँसँग कुराकानी भएको थियो तर हातपात गरेको भन्ने कुरामा सत्यता छैन ।’
वितरक शाहीले गएको वर्ष पनि वितरक गोपालकाजी कायस्थमाथि चलचित्रको विषयलाई लिएर दुव्र्यवहार गरेका थिए ।