फ्राईडे रिलिज अन्तर्गत यस हप्ताका लागि चार चलचित्र ‘भैरे’, ‘पण्डित बाजेको लौरी’ र ‘चक्कर’ ले शुक्रवारबाट एकसाथ प्रदर्शन आरम्भ गरेका छन् । यी तीन चलचित्र फरक-फरक जनराका छन् ।
‘भैरे’ ले देशमै बसेर संघर्ष गरिररहेको एक युवाको कथा बोल्छ भने ‘पण्डित बाजेको लौरी’ मा तल्लो जात भनेर हेपिने बदिनी र समाजमा ठूलो जात भनिने पण्डितबीचको सम्बन्धलाई देखाइएको छ ।
यता ‘चक्कर’ क्राइम जनराको चलचित्र हो । यो फिल्मलाई अनुष्क रौनियारले निर्देशन गरेका हुन् । रविन आचार्यको निर्माण र छायांकन रहेको चलचित्रमा ऋचा शर्मा, एभोनराज उप्रेती, अर्पण थापा, सृजना सुब्बा, स्मृति पोखरेललागयतका कलाकारहरुको अभिनय छ ।

एभरेष्ट सूर्य बोहरा निर्देशक चलचित्र ‘भैरे’ मा दयाहाङ्ग राई, सुरक्षा पन्त, वर्षा सिवाकोटी, बुद्धि तामाङ्ग, विक्रान्त बस्नेत, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको अभिनय छ । यसमा सूर्य थोक्करको द्वन्द्व छ ।
प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी निर्माता रहेको चलचित्रमा करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत सह-निर्मातामा छन् ।
पुरुषोत्तम प्रधानले ‘भैरे’ को सम्पूर्ण दृश्य खिचेका छन् । नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ को सम्पादन बनिष शाहले गरेका छन् ।
दीपक ओली निर्देशित चलचित्र ‘पण्डित बाजेको लौरी’ मा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय छ ।
यी तीन नेपाली चलचित्रसँगै मल्टिप्लेक्समा बलिउड चलचित्र ‘धडक’ ले प्रदर्शन थालेको छ । यसमा स्वर्गीय अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी कपूरको प्रमुख भूमिका छ । ईशान खट्टर उनको अपोजिटमा छन् ।




