अभिनेत्री नम्रता श्रेष्ठसँग सम्बन्ध चकनाचुर भएको विषयमा अभिनेता आर्यन सिग्देलले मुख खोलेका छन् । उनी हल्लाको पछाडि नकुद्न आग्रह गर्छन् ।
उनी भन्छन्, ‘म हल्लाको पछाडि लाग्दिनँ । सम्बन्ध चलचित्रले नै सपार्ने र टिकाइराख्ने हो । मैले रेखासँग चलचित्र नगर्दा सम्बन्ध विग्रिएको भने । चलचित्र गरेँ फेरि सम्बन्ध सुध्रिएको भने । नम्रतासँग चलचित्र गर्दा सम्बन्ध राम्रो र नगर्दा नराम्रो भन्ने होइन ।’
‘मेरो कसैसँग व्यक्तिगत सम्बन्ध छैन । मेरो सम्बन्ध भनेको फिल्म र क्यारेक्टरसँग हो । फिल्म सकिएपछि उहाँ र मेरोको व्यक्तिगत र प्रोफेशनल लाइफ सुरु हुन्छ’, उनले भने ।

‘टकिला सनराइज’ मा आर्यनले नम्रतासँग काम गर्न नमानेपछि दुईबीच सम्बन्धमा दरार आएको चर्चा छ । तर, उनी यो कुरा नकार्छन् । आर्यन अगाडि थप्छन्, ‘नम्रता चलचित्रमा अनुवन्धित पनि भइसकेकी थिइन । तर, त्यो स्क्रिप्ट नै पूरा हुन नसकेपछि चलचित्र बन्न सकेन ।’
‘मेरो एउटा साथी छ’, ‘क्लासिक’, ‘होमवर्क’ र ‘नोभेम्बर रेन’ फिल्म यी दुईले एकसाथ गरेका थिए । ‘क्लासिक’ पछि सँगै नदेखिएका कारण दर्शक यो कपललाई पुनः एकपटक पर्दामा हेर्न लालयित छन् ।
हाल ‘प्रसाद’ मा व्यस्त अभिनेत्री नम्रताको पछिल्लो रिलिज चलचित्र ‘पर्व’ हो भने गएको वर्ष अभिनेत्री रेखा थापासँग ‘रुद्रप्रिया’ गरेका आर्यनको यही साउन १८ गते ‘कायरा’ रिलिज हुँदैछ ।




