निर्देशक योगेश घिमिरेले चलचित्र ‘राधा’ को दोस्रो पार्ट निर्माण गर्ने भएका छन् । यो सिरिजमा अभिनेता जीवन लुईटेल र अभिनेत्री संचिता उप्रेतीको प्रमुख भूमिका थियो ।
‘राधा २’ मा यी दुई अभिनेता अभिनेत्री नहुने भएका छन् । संचितालाई अभिनेत्री प्रियंका कार्कीले रिप्लेस गरेकी छन् ।

‘राधा २’ मा दुई नायक हुने निर्देशक घिमिरेले बताए । उनका अनुसार, एक नयाँ र एक चल्तीका नायक चलचित्रका लागि अनुबन्ध भइसकेका छन् । दुई अभिनेताको नाम भने उनले खुलाउन चाहेनन् । चलचित्रको नाम सापटी लिएपनि कथा फरक हुने निर्देशक घिमिरेको भनाई छ ।
भाद्र २५ गतेबाट फ्लोरमा जान लागेको चलचित्रमा बसन्त सापकोटा, दीपक शर्मा र महाराज थापाको संगीत रहनेछ । प्रदिप भारद्धाजले चलचित्रको कथा लेखेका हुन् । संजय न्यौपानेले निर्माण गर्ने ‘राधा २’ महिलाप्रधान हुने बताइएको छ ।




