गायिका रुपा रौतारको एकल स्वर रहेको एल्बम ‘हिम्मत भाकी छोरी’ सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमका बीच प्रमुख अतिथि वरिष्ठ कलाकार हरिवंश आचार्यसहित संगीतकार सुरेश सेन्चुरी र समाजसेवी बिकाश घिरैयाले एल्बम एकसाथ विमोचन गरेका थिए ।
सानोमा आफ्नो दुवै हात गुमाएकी रुपाद्वारा स्वरबद्ध एल्बममा ६ गीत समावेश छन् । गीतमा रुपाको एकल स्वर रहेको छ भने सुरेशले एकल संगीत दिएका छन् । गीतहरुमा सरला गह, तेज प्रसाद पाण्डे, रोजिना थापा, डाक्टर कृष्ण हरि बराल, दिनेश खड्कासँगै संगीतकार सुरेश सेन्चुरीको पनि शब्द रहेको छ ।
कार्यक्रममा निर्माण भएको दुइ भिडियो पनि देखाइएको थियो भने मेरी आमा बोलको गीतलाई रुपाले लाइभ गाएकी थिइन् । उनको गायकीलाई उपस्थितले तारिफ गरेका थिए ।
लेख्दै छु बोलको गीतमा प्रविन खड्काको छायांकन , प्रेम नेपालीको सम्पादन र यम पुनको निर्देशन रहेको थियो । यसैगरी सार्वजनिक शिर्ष गीत हिम्मत भाकी छोरीलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् ।
यसमा भरत रेग्मीको सम्पादन, सुबोल थापाको कोरियोग्राफी र सुव्रतराज आचार्यको निर्देशन रहेको छ ।कार्यक्रममा अभिनेता प्रमोद अग्रहरी, निर्देशक मनोज पण्डित, संगीतकार राजु सिंह, गायिका एन्जिला रेग्मीको उपस्थिति रहेको थियो ।