आगामी भाद्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता प्रदीप खड्का स्टारर चलचित्र ‘रोजी’ को नाम परिवर्तन गरिएको छ । ‘रोजी’ बाट ‘रोज’ नामाकरण गरिएको छ ।
गोबिन्द महर्जन र उनकी श्रीमती नानीमैया महर्जनले आफ्नो मृतक छोरी रोजी महर्जनको हत्या घटनासँग चलचित्र ‘रोजी’ को कथा र परिवेश मिलेको भन्दै पटक पटक सो नाम नराखिदिन दबाव दिएपछि निर्माण पक्षले नाम परिवर्तन गरेको छ ।

बिहिबार चलचित्र विकास बोर्डमा निर्माता निर्देशक नीरक पौडेल, निर्माता मणिकरण केसी र मृतक रोजी महर्जनको परिवारबाट गोबिन्द महर्जन एवम नानीमैया महर्जनबीच भएको बार्तामा आफ्नो छोरीको मृत्यु घटनासँग सम्बन्धित चलचित्रको कथा मिलेको मर्हजन परिवारले दाबी गरे ।
महर्जन परिवारले चलचित्र निर्माणको सुरु देखि नै यस्तो दाबी गर्दै यो नाम नराख्न दबाब दिँदै आएका थिए । दुई पक्षीय वार्तामा अब निर्माण पक्षले फिल्मको नाम ‘रोजी’ नराख्ने,सत्य घटनामा आधारित रहेको भन्ने उल्लेख नगर्ने सम्झौता भएको छ ।
यस्तै महर्जन परिवारले पनि आगामी २२ भदौमा प्रदर्शनमा आउने यो चलचित्रलाई कुनै पनि प्रकारको बाधा नपुर्याउने सम्झौता भएको छ । यसरी निर्माता पक्ष र महर्जन परिवारबीचको सम्झौतामा यो नाम रोजी नराखिने तय भएपछि यसको नाम परिवर्तन गरेर ‘रोज’ राखिएको हो ।

चलचित्रको नाम परिवर्तन गर्नुको कारणबारे निर्देशक पौडेलले भने, ‘मृतकको संवेदनालाई मध्यनजर राखेर हामीले नाम परिवर्तन गर्ने निर्णय गरेका हौं । कानुनी रुपमा हामी माथि हुँदाहुँदै पनि कसैको संबेदनालाई बिक्री गरेर पैसा कमाउनु हुन्न भन्ने हाम्रो मान्यता रहको छ ।’
गोपिकृष्ण मूभिजको व्यानरमा निर्मित यो चलचित्रमा अभिनेता प्रदीप खड्का, परमिता राणा, मिरुना मगर, कर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।




