नेपालमा यस वर्ष प्रदर्शनमा आएको चलचित्र ‘लम्फू’ अब विदेशमा प्रदर्शन हुने भएको छ । आइतवार यो चलचित्रको अमेरिकामा च्यारिटी शो हुँदैछ ।
हाल अमेरिकामा रहेका चलचित्रका निर्देशक गोपालचन्द्र लामिछानेले पर्वत मोदी काली समाज अमेरिकाको सहयोगार्थ च्यारिटी शो हुन लागेको जानकारी दिए । च्यारिटी शोको बन्दोबस्त समाजका अध्यक्ष रुद्र गुरुङ, संस्थापक अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठ, महासचिव रमेश सुवेदी, सरोज पुरी लगायत संस्थाका सदस्यहरुले मिलाएका हुन् ।

बाल्टिमोरको बेलेर रोडस्थित होराइजन सिनेमा हलमा साँझ ७ बजे ‘लम्फू’ को च्यारिटी हुन लागेको हो । चलचित्रका लागि टिकट मूल्य अमेरिकी १५ डलर राखिएको छ । यो चलचित्र पपुलर मल्टिमीडियाको लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् ।
‘लम्फू’ मा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारीलगायतको अभिनय रहेको छ ।
यस चलचित्रमा तरकारीवालीको नामले संसारभर प्रख्यात कुशुम श्रेष्ठको पनि अभिनय रहेको छ । यो चलचित्रमा एक युवाको जीवनमा आईपर्ने विभिन्न उतारचढावको कथा समेटिएको छ ।




