ब्रान्डका रुपमा स्थापित ‘नाइँ नभन्नू ल’ को छैटौं सिरिज पनि निर्र्माण हुने भएको छ । ‘नाइँ नभन्नू ल-५’ ले बक्सअफिसमा सुखद कलेक्सन गर्दैगर्दा निर्देशक तथा निर्माता विकाससराज आचार्यले ‘नाइँ नभन्नू ल-६’ वर्ष २०७६ मा लिएर आउने घोषणा गरेका छन् ।
निर्देशक आचार्य ‘छक्का पञ्जा-२’ मा जोडिएका कारण ‘नाइँ नभन्नू ल-५’ आउन दुई वर्ष लागेको थियो । उनले अब छैटौं सिरिजको स्क्रिप्ट लेखनमा लाग्ने बताए । यसमा बाल कलाकार अनुभव रेग्मी दोहोरिने कन्फर्म भएपनि अन्य कलाकारको टुंगो लागेको छैन ।

निर्देशक आचार्यले यो बाहेक अरु नाममा चलचित्र बनाउन नसकेको आलोचना खेपिरहेका छन् । तर, उनी यो सिरिजलाई धेरै लम्ब्याउने सोचमा भने छैनन् । अब केही सिरिज बनाएपछि रिमेक बनाएर यो नामको चलचित्र बन्द गर्ने तयारी उनको छ ।
चलचित्रको रिमेकमा अनुभव हिरो हुनेछन् अर्थात् जीवन लुईटेलको भूमिका उनले निर्वाहा गर्नेछन् । यसका लागि भने अझै केही वर्ष कुर्नु पर्नेछ । निर्देशक आचार्य ‘नाइँ नभन्नू ल-६’ लगत्तै अन्य नामका दुई चलचित्र पनि बनाउँदैछ ।
‘हजार जूनीसम्म’ र ‘नीरन्जना’ उनले निर्देशन गर्न लागेका चलचित्र हुन् । ‘नाइँ नभन्नू ल’ को छैटौं श्रृंखला रिलिजपछि घोषित दुई चलचित्रको काम अगाडि बढाइने उनले बताए । ‘म हतारमा चलचित्र लिएर आउँदिनँ । हरेक वर्ष एक मात्र चलचित्र लिएर आउँछु’, उनले भने ।




