भाद्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता प्रदीप खड्का स्टारर चलचित्र ‘रोज’ को अहिले देशव्यापी प्रमोसनल टुर भइरहेको छ । बुलवल, पोखरा र नारायणगढमा सम्पन्न भइसकेको टुरमा अभिनेत्री द्वय मिरुना मगर र परमिता आरएल राणा सहभागी छन् ।
‘फूल हैन…’ फेम्ड गायक प्रदाप दास पनि टुरको अभिन्न अंगको रुपमा छन् । बुटवल, पोखरा र नारायणगढमा सम्पन्न भइसकेको प्रमोसनल कन्सर्टमा प्रदीपको लोभलाग्दो क्रेज देखिएको थियो ।
उनलाई हेर्न १७-२५ वर्ष उमेर समुहका दर्शकहरुको ठूलै भिड लागेको थियो । प्रायः युवती फ्यानहरु बढी देखिएका थिए । तीन सहरमा भएको कन्सर्टमा प्रशंसकको साथ र मायाले खुशी भएको प्रदीपले बताए ।
उनी भन्छन्, ‘दर्शकसँग प्रत्यक्ष रुपमा साक्षात्कार गर्न पाउँदा आनन्द महशुस हुन्छ । हामीले उहाँहरुकै लागि चलचित्र गर्ने हो । उहाँहरुको माया नै सबैभन्दा ठूलो सम्पत्ति हो ।’
उनले पोखरा पुग्दा एक अजिब फ्यान भेटेको सम्झिए । ‘म ब्राण्ड एम्बेसडर रहेको ‘ब्राडफोड एजुकेशनल कन्सल्टेन्सी’ पुग्दा १२ घण्टाको यात्रा गरेर झापाबाट मलाई भेट्नकै लागि पोखरा पुग्नुभएको प्रमिला गैरे नामकी फ्यानलाई भेटेँ । मैले आजसम्म यस्तो फ्यान भेटेको थिइनँ’, उनले भने ।
हुनत, प्रदीप जहाँ जान्छन् त्यहाँ कोही न कोही अजिब फ्यानसँग उनको भेट भएकै हुन्छ । शनिवार चितवनको भरतपुरस्थित नारायणी नदीको किनारमा भएको ‘रोज’ कन्सर्टमा पुग्दा उनलाई फ्यानबाट जोगाउन प्रहरीलाई समेत हम्मेहम्मे परेको थियो ।
प्रतापले आफ्नो प्रस्तुति दिएपछि फिल्मका लिड अभिनेत्री द्वय मिरुना र परमिता फिल्मको विषयमा जानकारी दिन साँझले भित्रने संकेत गर्दैगर्दा स्टेज चढे । त्यसपछि प्रदीपले स्टेज चढ्दै चलचित्रको डाइलग बोले, ‘मैले उसलाई मारेको होइन मुक्ति दिएको । मलाई ऊबाट र उसलाई यो संसारबाट ।’
उनले फ्यानसँग हात मिलाउँदै विषयमा विषयमा जानकारी दिए । कन्सर्टमा उपस्थिति दर्शकलाई उनले हस्ताक्षर गरेर चलचित्रको नाम अंकित टिसर्ट र गुलाबको फूल बाँढे । टिसर्ट र फूल समात्न दर्शकबीच ठूलै घम्साघम्सी भएको थियो ।
युवतीहरुले भने एकोहोरो रुपमा ‘प्रदीप प्रदीप’ भन्दै हटिङ गरेका थिए । अब इटहरी, धरान, दमक, बिर्तामोड र राजधानीमा चलचित्रको प्रमोसनल कन्सर्ट हुनेछ ।
नीरक पौडेल निर्देशित चलचित्रलाई गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टले निर्माण गरेका हुन् । ‘रोज’ ले एक सोझो युवकको क्राइमतर्फको यात्रा र उतारचढाव पेश गर्छ ।